नेपाली कांग्रेसलाइ बिशेष महाधिवेशनको नाममा नेतृत्व लुटेर लगेपछि बिचलित भएका कांग्रेसीहरुले डा. शशांक कोइरालाको नेतृत्वमा सक्कली कांग्रेस पार्टी सुरु गर्ने भएका छन्।
उनीहरुले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेका छन्। अगष्ट १, २०२६ शनिबार सो समूहको सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै डा. कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाइएको छ। यसका अलावा १६ वटा विभिन्न उपसमिति पनि बनाइएको नेता डा. कोइरालाले जानकारी दिए।
भेलामा पार्टी भित्रको वर्तमान अवस्था, मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म–सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरूमा गहन छलफल हुने नेता कोइरालाले बताए।
उनले पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदिय जिम्मेवारीमा रहेका व्यक्तिहरुबाट सार्थक भूमिका नदेखिएपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं शुभचिन्तकहरुमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको उल्लेख गरे।
साथै उनले लोकतान्त्रिक संविधान माथि प्रहार भइरहेको र धार्मिक तथा साम्प्रदायिक द्वन्द्वका घटनाहरू दिन प्रतिदिन बढिरहेको अवस्थामा राष्ट्रिय एकताको खाँचो छ। सुनसरी लगायतका स्थानमा भएको घटनाका घाइतेहरूको उचित स्वास्थ्यो पचारको व्यवस्था गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग पनि गरे।
डा. कोइरालाको नेतृत्वमा साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने र त्यहिंबाट पार्टी घोषणा हुने तयारी रहेको बताइन्छ। भेलामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरू, पूर्व केन्द्रीय पदाधिकारी सदस्यहरू लगायत सबैलाई सहभागी हुन समेत आग्रह गरेको छ।
