नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ हुने, खेलाडी दर्ता खुला

Spread the love

आरटीपी, नर्थ क्यारोलाइना। नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park) क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले हरेक वर्षझैं यस वर्ष पनि ‘आरटीपी दशैं कप’ आयोजना गर्ने भएका छन्। आयोजक समितिले अगस्ट १ देखि खेलाडी दर्ता औपचारिक रूपमा खुला गरिएको जानकारी दिएको छ।

सन् २०१७ देखि निरन्तर सञ्चालन हुँदै आएको आरटीपी दशैं कप नेपाली समुदायबीच खेलकुदमार्फत भाइचारा, एकता र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ। प्रतियोगिताको सुरुवातदेखि नै नेतृत्व गर्दै आउनुभएका विकास सापकोटाका अनुसार, दशैं कपले आरटीपी क्षेत्रमा रहेका नेपालीहरूबीच आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै समुदायलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

यस वर्ष प्रतियोगितालाई अझ व्यापक र प्रतिस्पर्धात्मक बनाउन १० टोली सहभागी गराइने आयोजकले जनाएको छ। प्रतियोगिता सफल, व्यवस्थित तथा निष्पक्ष रूपमा सञ्चालन गर्न १४ सदस्यीय आयोजक तथा टिम क्याप्टेन सम्मिलित समिति गठन गरिएको छ।

समितिमा विकास सापकोटा, जीवन न्यौपाने, दीप रिसाल, टंक सेलिङ लिम्बु, मोहन सापकोटा, संयम लामिछाने, सन्तोष गौतम, विवेक लामा, प्रदीन मगर, सौरभ राज बिष्ट, निराजन कार्की, सुनील केसी, अशोक सुवेदी र अंकुर अधिकारी रहेका छन्।  समितिका सदस्यहरूमध्ये मोहन सापकोटा सन् २०२५ को आरटीपी दशैं कप विजेता टोलीका कप्तानसमेत हुनुहुन्छ।

आयोजक समितिका सदस्य जीवन न्यौपानेका अनुसार, “यस वर्षको आरटीपी दशैं कपलाई विगतका वर्षभन्दा अझ सन्तुलित, निष्पक्ष  र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखिएको छ।”

आयोजकले अगस्ट १ देखि खेलाडी दर्ता खुला गरिएको जानकारी दिँदै आरटीपी नर्थ क्यारोलाइना तथा वरपर बसोबास गर्ने नेपालीहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ। प्रतियोगिताका लागि खेलाडी दर्ता शुल्क ३५ अमेरिकी डलर निर्धारण गरिएको आयोजक समितिले जनाएको छ।