रास्वपा नवनिर्वाचित नेतृत्वले पद तथा गोपनीयताको शपथ ग्रहण गरे

Spread the love

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा आयोजित एक विशेष कार्यक्रमका बीच सभापति रवि लामिछानेले निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहण गर्नेहरूमा महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य रहेका छन्। शपथ ग्रहण पश्चात् सभापति लामिछानेले नवनिर्वाचित सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै उपहारस्वरूप घण्टी प्रदान गरे। 

चितवनमा असार ७ देखि १२ गतेसम्म सञ्चालन भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो। सो महाधिवेशनबाट एक सभापति र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। 

रास्वपाको विधान अनुसार पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय रहने व्यवस्था छ। जसमा १०० जना प्रत्यक्ष निर्वाचित हुने र बाँकी ५१ जना सदस्य सभापतिले मनोनीत गर्ने वैधानिक प्रावधान रहेको छ ।

यसबाहेक सातवटै प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ। महाधिवेशनमा भएको निर्वाचनबाट खुलातर्फ ३२, समावेशीतर्फ ३२ र सात प्रदेशबाट पाँच-पाँच जना गरी केन्द्रीय सदस्यहरू चुनिएका थिए। सभापति लामिछानेले निर्वाचित दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीलाई पनि शपथ खुवाएका छन् ।

रास्वपाको सांगठनिक संरचनामा कुल १९ जना पदाधिकारी रहने व्यवस्था छ । हाल निर्वाचित पदाधिकारीबाहेक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष गरी ११ वटा पद अझै रिक्त रहेका छन् । यी बाँकी पदहरूमा मनोनयन हुन बाँकी छ। पदाधिकारीको मनोनयन पार्टी सभापतिको विशेषाधिकारभित्र पर्ने भएकाले आगामी बैठकहरूबाट यसबारे निर्णय लिइने बताइएको छ ।