जय नेपाल फाउन्डेशनको अधिवेशन सम्पन्न: डा. पण्डित अध्यक्षमा निर्वाचित

Spread the love

अमेरिका। जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक साधारण सभा (एजीएम) नयाँ नेतृत्व निर्वाचित गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।

भर्चुअल माध्यमबाट गत शनिबार र आइतबार आयोजित सो अधिवेशनमा विश्वभर रहेका नेपाली समुदायका अगुवाहरू, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी, विभिन्न च्याप्टरका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

फाउन्डेशनका प्रवक्ता लालप्रसाद काफ्लेले सबै सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको शुभारम्भ गरे।

प्रतिवेदन प्रस्तुति

कोषाध्यक्ष गोविन्द श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हाल २९ गभर्निंग काउन्सिल सदस्य र ९२ आजीवन सदस्य रहेको जानकारी दिए।

महासचिव अग्नि चौलागाईंले संस्था स्थापनादेखि हालसम्म सम्पादित प्रमुख गतिविधिहरूबारे विस्तृत जानकारी दिए। उनले ग्लोबल नलेज नेटवर्क, विभिन्न विभाग तथा च्याप्टरहरूले सम्पन्न गरेका कार्यक्रमहरूबारे पनि प्रकाश पारे। ग्लोबल नलेज नेटवर्कका प्रमुख डा. निरज श्रेष्ठले संस्थाले सञ्चालन गरेका विभिन्न वेबिनारहरूबारे प्रस्तुति दिए।

युवा विभागका कार्यवाहक अध्यक्ष महेन्द्र बस्नेतले विश्वका ३४ मुलुकमा विभाग अन्तर्गत च्याप्टर गठन भइसकेको जानकारी दिए। महिला विभाग संयोजक बिनिता अधिकारीले महिला सशक्तिकरणका क्षेत्रमा भइरहेका कार्यहरू साझा गरिन्।

अन्तर्राष्ट्रिय च्याप्टरहरूका भनाइ

अष्ट्रेलिया शाखाका अध्यक्ष डा. डिल्ली बन्जाडेले आफ्नो च्याप्टरले सञ्चालन गरेका वेबिनार कार्यक्रमहरूबारे जानकारी दिए। युके शाखाका अध्यक्ष डा. सम्पूर्णानन्द ढुंगानाले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै संस्था निर्माणमा सामना गर्नुपर्ने चुनौतीहरूको उल्लेख गरे। उनले ज्ञानको विस्तारमा असीमित सम्भावना रहेको बताउँदै नयाँ कार्यसमितिले प्राथमिकताका क्षेत्रहरू स्पष्ट रूपमा निर्धारण गर्न, केन्द्र र च्याप्टरबीचको सम्बन्ध पुनर्परिभाषित गर्न तथा संस्थालाई महासंघको स्वरूपमा अगाडि बढाउने विषयमा गम्भीर विमर्श गर्न आग्रह गरे। डेनमार्क शाखाकी अध्यक्ष सीता बरालले पनि आफ्नो शुभकामना व्यक्त गरिन्।

निर्वाचन र शपथग्रहण

निर्वाचन समितिका संयोजक विश्वनाथ बरालले कार्यक्रमको सुरुमा निर्वाचनको नतिजा घोषणा गर्दै डा. यादव पण्डितलाई केन्द्रीय अध्यक्षको पदको शपथ दिलाए। नर्थ क्यारोलिना च्याप्टरले सञ्चालन गरिरहेको नेपाली भाषा तथा संस्कृति संरक्षण अभियान र जय नेपाल अनुसन्धान संस्था (थिङ्क ट्यांक) लगायतका नयाँ पहलहरूसमेत अधिवेशनमा प्रस्तुत गरिए।