*सूचना तिमल्सिना, अगष्ट १०, २०२५
एक्लोपन चाहना होइन । एक्लोपन यथार्थता हो । ऊ जता गएर आएपनि विश्रान्ति हो । साथी बनाएर आएपनि । पत्नि बनाएर पनि, पति बनाएर पनि । एक्लोपनबाट भाग्छु भनेपनि । एक्लोपनलाई सम्हालेर राख्छु भनेपनि । ऊ जोगीको लागि छ । ऊ भोगीको लागि छ । ऊ सबको लागि जताततै छ । आशत्तिले खिचेर सम्बन्धमा नै बस्छु भने पनि परिवारको साथ छोड्दिन भने, प्रियतमको साथ मृत्युतक दिन्छु भने ऊ हरकोही बिन्दुमा छ । अरे त्यसो त म किन एक्लोपनबाट भाग्न खोज्छु ? किन डर मलाई डर देखाएर एक्लोपनमा जान रोक्छ? म किन त्यो डरलाई पत्याउछु ? जहाँ कि हर कोही घटनाले मलाई एक्लोपन देखाउछ ।
एक्लोपनसँग छ के ?
मलाई थाहा छ , यहाँ कि प्रत्येक मनलाई थाहा छ, मात्र यति कि एक्लोपनसँग शान्ति छ । त्यो शान्ति चञ्चल मनको लागि सह्य छैन । त्यसैले ऊ पीँडा निकाल्छ । त्यसैले डर निकाल्छ । र ऊ बबण्डर गरिरहन्छ । ओ प्रिय मन म त्यसलाई निर्वाध हेर्ने छु । त्यो पीडालाई त्यो डरलाई । त्यो छाडेर जानेसंग बनेको छापलाई । छाडेर जान्छ को ? जसलाई अरुको साथ नचाहिने भएको छ । जो स्वतन्त्र बन्न चाहन्छ । उसको स्वतन्त्रतामा भाँजो हाल्ने म को हो ? मनले पीँडा देखाएपनि । डरलाई देखाएपनि । म एक्लोपनलाई हेर्नेछु । त्यो शान्तिलाई हेर्नेछु । म त्यो शान्तिको छहारीमा बस्नेछु । जीवनलाई अवलोकलन गर्नेछु । यो एक्लोपनसँग कहिलेसम्म भाग्ने ? एक्लोपन बन्न खोज्ने र भाग्ने चक्रबाट म अवाक बनेकीछु ।
मैले कतिपटक ऊ देखि डराएर अनेकौँ निर्णय गरेँ । एक्लोपनमा परिन्छ भनेर सबलाई सुने । लोभलाई सुने । घृणालाई सुने । स्वार्थलाई सुने । मैले मायाले सुनिन् । डरले सुने । एक्लो परिन्छ भनेर सुने । नत्र म सुन्ने पक्षमा नै थिइन । मेरो त्यो सुन्न रोक्ने अवरोध शक्ति कतै डर बनेर बसेको थियो । कतै पीँडा बनेर बसेको थियो । त्यसैले म खुल्न सकेकी थिइन । किनकी उफ ! त्यो झुटो कहानीले गर्दा एक्लोपनदेखि भागेकी थिएँ ।
ओ ! प्रिय एक्लोपन आइजो । लैजा मलाई । बना तेरो । म तेरो शरणमा पर्छु । मसँग भएका डर, पीँडा सारा लैजा । मेरो आशक्ति लैजा । मेरो द्वेष लैजा । मेरो काम लैजा । मेरो नाम लैजा । मेरो अहम् लैजा । सारा लैजा । म हरकोही दिन तयार छु । म रहनेछु तभित्रको शान्तिमा । विवेक आएमा म बग्नेछु उसँग । नआएमा म रहनेछु साक्षी भावसँग । साक्षी भाव पनि नआएमा जो आउनेछ त्यहीसँग रहेनेछु । डर आए डरसँग रहनेछु । पीँडा आए पीडासँग रहेनेछु । जे आउछ त्यहीमा रहनेछ । तर त्यो झुट कल्पनामा रहने छैन । ओ एक्लोपन जहिले आउनु छ आइजो । जहिले लैजानु छ लैजा मलाई ।
मजस्तै डराउने मनको भ्रान्ति तोडिदे । प्रेमीले छोड्ला कि भन्ने भ्रान्ति, परिवारले छोड्ला कि भन्ने भ्रान्ति, श्रीमानले छोड्ला कि भन्ने भ्रान्ति, श्रीमतीले छोड्ली कि भन्ने भ्रान्ति, छोराछोरीले छोडलान् कि भन्ने भ्रान्ति तोडिदे । लैजा मलाई, लैजा हामीलाई, लैजा म तत्वलाई, जो विचार स्वरुप डर भएर बसेको छ, जो चाहना स्वरुप दुःख बनेर देखापरेको छ । ओ प्रियतम, म पानीको रुपमा रहेकी बुँद बुँद भुल्का, समुन्द्रमा शान्त चयन रहन चाहन्छु ।
जसको भ्रान्ति यथार्थ भएको छ । जो एक्लिएका छन् । तर एक्लोपनलाई खुलेर हेर्न सकिरहेका छैनन् । ती अनेक भ्रान्ति कहानी चुर चुर भएर धुजा हुन् । त्यो एक्लोपनको कहानी बोकेर आउनेलाई हाँस्दै भनुन, “अरे मेरो प्रिय मित्र म तिमीलाई चिन्दछु । तिम्रो कहानी चिन्दछु । तिमीले सुनाएको यो अज्ञानलाई चिन्दछु ।” शान्तिका प्रकाशमा उनले आफूलाई चिनुन । त्यो भ्रान्तिको एक्लोपनको कहानी । त्यो अवास्तविक रुपमा रहेको वास्तविक कहानी । त्यो बच्चाले समाएको खेलौनाको कहानी । ओ उफ ! त्यो सत्य भएर पनि असत्यको कहानी ।
(यो लेख मैले प्रिय साथीको लागि अर्पण गर्न लेखेकी थिएँ । अब यो लेख यहाँ अर्पण गर्दछु।)
