Headlines

सरकार र आन्दोलित शिक्षकबीच संझौता, आन्दोलन स्थगित

बिगत २९ दिनदेखि लगातार आफ्ना विभिन्न मागहरू राख्दै आन्दोलनमा उत्रिएका नेपालका सरकारी बिद्यालयका शिक्षकहरूसँग नेपाल सरकारले ९ बुँदे सहमति गर्न सहमत भएसँगै शिक्षक आन्दोलन स्थगित भएको छ र बिधालय खुल्ने भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार साँझको दुइ पक्षको बैठकपछि दुबै पक्ष निर्णय गर्न सफल भएका हुन्। जस अनुसार अबदेखि देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौँको निजामती अस्पतालमा सहुलियत दरमा स्वास्थ्य सेवा पाउनेछन्। यसअघि निजामती कर्मचारीहरूलाई मात्र यस्तो सुविधा दिइएको थियो।

अस्थायी, राहत, करार, साबिक उमावि, प्राविधिक धार, विशेष शिक्षा तथा प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षकहरूको बिदा सञ्चय भई अवकाशका बेला एकमुष्ट रकम उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। यससँगै प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले निर्धारण गरेअनुसार लागू गरिनेछ।

आगामी आर्थिक वर्ष २०८२÷८३ बाट स्थायी शिक्षकहरूको ग्रेड निजामती कर्मचारीसरह बनाइने सहमति पनि भएको छ। प्राथमिक तृतीयदेखि माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि यो व्यवस्था लागु हुनेछ। यसैगरी, दुर्गम क्षेत्रमा कार्यरत सबै प्रकृतिका शिक्षक स्थायी, अस्थायी, राहत, करार, प्राविधिक तथा विशेष शिक्षाका शिक्षकलाई कानुन बमोजिम दुर्गम भत्ता दिने प्रावधान मिलाइनेछ।

निजी स्रोतमा कार्यरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न आवश्यक नियमावली संशोधन गर्ने पनि उल्लेख छ। साथै, शिक्षकहरूलाई अब नेपाल सरकारको मर्यादाक्रम सूचीमा समेत समावेश गरिनेछ ।

नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको निःशुल्क उपचार सरकारी अस्पतालमा गरिने सरकारको प्रतिवद्धता पनि संझौता पत्रमा समावेश छ। निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीसरह बनाइने सहमति पनि भएको छ । 

आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री रघुजी पन्तले यसअघि शिक्षकसँग उधारो सहमति भएपनि यस पटक नगदमा सहमति गरेको दाबी गरे। यसअघि शिक्षकसँग उधारो सहमति भएको थियो तर अप्ठ्यारो अवस्थामा पनि हामीले नगद सहमति गरेका छौं, पन्तले भने।

Leave a Reply