गोदावरी पालिकाद्वारा मृतकका परिवारलाई राहत उपलब्ध गराउने

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण गोदावरी नगरपालिकामा ठूलो सङ्ख्यामा मानवीय क्षतिका साथै धनजनको क्षति भएको छ। पहिरो र डुवानले गोदावरी नगरपालिकाका विभिन्न वडामा हाल सम्म १३ जनाले ज्यान गुमाउनु परेको नगरपालिकाले जनाएको छ।

यसैबीच नगरपालिकाले एक विज्ञप्ति प्रकाशित गर्दै दुःखद घडीमा मृतकका परिवारजनलाई राहत स्वरुप प्रति परिवार रु. २,००,०००।- उपलब्ध गराउने नगर कार्यपालिकाको आकस्मिक बैठकबाट निर्णय गरिएको जनाएको छ । विपदका समयमा आकस्मिक बैठक बसी तत्काल राहतका कार्यक्रम घोषणा गर्ने गोदावरी नगरपालिका पहिलो नगरपालिका बनेको छ।

नगरपालिकाले बाढी एवं पहिरो गइरहेको र विभिन्न उपाय अपनाउँदा पनि रोकथाममा कठिनाइ भइरहेको अवस्थामा बाढीपहिरो नियन्त्रणका लागि लगातार खटिने नगरप्रहरी नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी सहित तालिम प्राप्त जनशक्ति र स्थानीयवासीलाई धन्यवाद समेत दिएको छ।

नगरपालिकाको विज्ञप्तिमा भनिएको छ-“गोदावरी नगरपालिका लगायत देशै भरी केही दिन देखि परिरहेको अविरल वर्षाका कारण ठुलो संख्यामा मानविय र धनजनको क्षती पुगेको छ। यस नगरपालिको सबै वडाहरुमा भिषण वर्षाका कारण बाढी एवं पहिरो गईरहेको र विभिन्न उपाय अपनाउदा पनि रोकथाममा कठिनाई भईरहेको छ। यस्तो विपद अवस्थामा बाढी, पहिरो नियन्त्रणको लागि नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, सहित तालिम प्राप्त जनशक्ति र स्थानीयवासीको अथक प्रयासको उच्च सम्मान गर्दछौ ।

गोदावरी नगरपालिकाका सबै क्षेत्रमा भिषण वर्षाले मानविय तथा भौतिक संरचनाहरुमा ठुलो क्षती पुऱ्याएको विषम परिस्थिति छ। नगरक्षेत्रको खोलाहरुको वहाव तिव्र हुदां आसपासका वस्तिमा डुवानको प्रभाव परेको छ र पहिरोको प्रकोपले ग्रामिण क्षेत्रका बासिन्दाको जनजिवन अस्तव्यस्त भएको छ ।

पहिरो र डुवानले विभिन्न वडामा हाल सम्म १३ जनाले जिवन गुमाउनु भएको छ। यो दुःखद क्षणमा सम्पूर्ण नगरपालिका परिवार भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौ र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ । यस दुःखद घडीमा मृतकका परिवारजनलाई राहत स्वरुप प्रति परिवार रु. २,००,०००।- उपलब्ध गराउने नगरकार्यपालिकाको आकस्मिक बैठकबाट निर्णय गरिएको छ ।

बाढी पहिरोले आकान्त नगरवासीलाई सम्बन्धित वडा कार्यालयको समन्वयमा उचित राहतको व्यवस्थापन गरिनेछ । दुःखमा रहनुभएका नगरवासिहरुलाई सहयोग गर्नुहुनु यस नगरभित्रका सामाजिक संस्था तथा नागरिक समाज समक्ष अनुरोध गर्दछौ र यसता दुःखद क्षणमा गोदावरी नगरपालिका सदैव आम नगरवासीको साथ रहने प्रतिवद्धता व्यक्त गर्दै अनवरत खट्‌नुहुने सम्पूर्ण महानुभावहरुमा उच्च सम्मानका साथ सचेत, सतर्क र एकतावद्ध रहनुहुन हार्दिक अपिल गर्दछौं। साथै मिति २०८१/०६/१२ देखि मिति २०८१/०६/१६ गते सम्म यस नगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालयहरु बन्द रहने जानकारी गर्दछौ।

Comments
Related News
Latest Post