ललितपुरको ज्यापु कल्याण तालिम भवन संस्कृति सम्पदा संरक्षणका लागि

ललितपुरको ज्यापु समाज यलले निर्माण गरेको ज्यापु कल्याण तालिम भवन संचालनमा आएको छ। उक्त भवनको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे।

चिरीमैं महर्जनले दान दिएको जग्गामा ललितपुर महानगर, वडा कार्यालयहरु र अन्य संघसंस्थाको सहयोगमा उक्त भवन निर्माण गरिएको हो। तीन करोड लगानीमा निर्माण गरिएको यो भवनमा कला, संस्कृति र सम्पदा संरक्षणका मद्दत गर्ने तालिम संचालन गरिनेछ। दान दिइएको जग्गाको क्षेत्रफल १० आना, एक पैसा, दुई दाम रहेको छ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरले दिने सम्पूर्ण तालिम उक्त भवनबाट दिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । कला, संस्कृतिक र सम्पदा संरक्षणका लागि आयोजना गरिने तालिमलाई यस भवनमा प्राथमिकता दिइने उनको भनाई थियो । जग्गा दान दिने व्यक्ति र परिवारले पवित्र काम गरेको बताउँदै धन्यवाद दिए ।

जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुयाँलले कला, संस्कृतिक र सम्पदा संरक्षणका लागि तालिम भवन निर्माण गरेकोमा खुशी व्यक्त गर्दै यो पुण्यकर्ममा सहभागी हुनेलाई धन्यवाद दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सी बहादुर श्रेष्ठले सीप प्रबद्र्धनसँग सम्बन्धित तालिमका लागि भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै तालिमलाई आयआर्जनसँग जोड्नुपर्ने धारणा राखे । जग्गा दिने व्यक्ति र उनको परिवारप्रति उनले कृतज्ञता व्यक्त गरे ।

ललितपुर महानगर वडा नं.११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले आफ्नो वडामा ज्यापु कल्याण तालिम भवन निर्माण भएकोमा खुशी व्यक्त गरे । तालिम संचालनका लागि समेत वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ज्यापु समाज यलका अध्यक्ष तीर्थ महर्जनले ज्यापु कल्याण तालिम भवन सम्पूर्ण महानगरबासीको गौरब भएको बताए । यो भवन निर्माणको लागि जग्गा दान दिने चिरीमैं महर्जन र उनको परिवारलाई तीर्थ महर्जनले धन्यवाद दिए । भवनलाई मूर्त र अमूर्त सम्पदा संरक्षण , कला, संस्कृति संरक्षणका लागि भरपुर प्रयोग गर्ने वाचा उनले गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रेमकृष्ण महर्जन, नेकपा एमालेका नेता हरिकृष्ण व्यञ्जनकार लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान पत्र प्रदान गरिएको थियो।

Comments
Related News
Latest Post