ललितपुर काङ्ग्रेसद्वारा प्रदेशमन्त्री महर्जनलाइ सम्मान, सांसद राणा प्रमुख अतिथि

नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले वागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री माननीय मीनकृष्ण महर्जनसँग आज भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य उदय शमशेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित नेताहरुले नवनियुक्त मन्त्री महर्जनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा पुर्व अर्थराज्यमन्त्री समेत रहेका सांसद राणाले आफ्नो क्षेत्रले मन्त्रालयको जिम्मेवारी पाउँदा समग्र क्षेत्रको विकास हुने बताउदैं क्षेत्रको विकास सँगसँगै संगठन पनि बलियो हुने धारणा राखे। उनले ललितपुरको विकासमा नेताहरु मिलेर एकताको सन्देश दिने हो भने कसैले ललितपुरमा काङ्ग्रेसलाई पराजय गर्न नसक्ने बताए।

कार्यक्रममा नवनियुक्त मन्त्री महर्जनले आफ्नो प्रयासले मात्र यो जिम्मेवारी प्राप्त नभएको बताए। यस क्षेत्रका जिम्मेवार नेता र कार्यकर्ताहरुको अथक प्रयासले सार्थक रूप पाउन सकेको मन्त्री महर्जनको भनाइ थियो। मन्त्री महर्जनले आफुले पाएको जिम्मेवारी सम्हालेका दिन बाटै खेलकुद मन्त्रालयमा भएका विकृति रोक्न र सच्याउन आफु लागिपरेको बताए।आफु बाल्यकाल अवस्था देखि खेलकुदमा रुचि राख्दै यहाँसम्म आइपुगेको बताउदैँ युवार र खेलाडीलाई कहिल्यै निराश हुन नदिने गरि काम गर्ने बताए। नेता महर्जनले विकास निर्माणका सन्दर्भमा पनि आफ्नो क्षमताले भ्याएसम्म काम गरेर देखाउने प्रण गरे। उनले पार्टीले दिएको जिम्मेवारीलाई पार्टीका नेता र कार्यकर्ताको शिर ठाडो पारेर हिड्न सक्ने बनाउने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुन्दर मान थिङ, बागमती प्रदेशका सह महामन्त्री ऋषिराम घिमिरे, नेपाली कांग्रेसका पुर्व आमन्त्रित केन्द्रीय सदस्य कवेल बहादुर लामा, ललितपुरका नेता मथुराप्रसाद घिमिरे, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, जिल्ला सहसचिव तथा महाङ्काल गाउँपालिका प्रमुख गणेशबहादुर केसी, महासमिति सदस्यहरु खोमप्रसाद घिमिरे, रामकृष्ण लामा (इन्द्र), बिमलचन्द्र बिष्ट, सानु कान्छा मोक्तान, शशी गुरुङ खड्का, ललितपुर क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति महेश्वर थापा, पुर्व सचिव रविन्स शर्मा, वागमती गाउँपालिका प्रमुख वीर बहादुर लोप्चन लगायतले पनि शुभकामना दिएका थिए।

Comments
Related News
Latest Post