सीतल आचार्य काठमाडौँ, असोज २०, २०८३/अन्तर्राष्ट्रिय लोक संस्कृति तथा नृत्यको प्रतिष्ठित संस्था अन्तर्राष्ट्रिय नृत्य महोत्सव महासंघ (Federation of International Dance Festivals – FIDAF) को हालै दक्षिण कोरियाको चेओनन (Cheonan) शहरमा सम्पन्न कार्यकारी समितिको बैठक तथा अधिवेशनबाट नेपालका आरसी कोइराला ‘रामचन्द्र’ पुनः कार्यसमिति सदस्य (Board of Director) मा निर्विरोध निर्वाचित भएका छन्।
विश्वका ११२ राष्ट्रका १४२ जना प्रतिनिधि तथा पदाधिकारीहरूको सहभागिता रहेको सो महाधिवेशन तथा अधिवेशनमा भएको निर्वाचनबाट कोइराला चार वर्षे कार्यकालका लागि ३३ सदस्यीय कार्यकारी बोर्डमा सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्।
नेपाली कला र संस्कृतिका प्रवर्द्धक कोइराला
एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा विगत २६ वर्षदेखि नेपालमा निरन्तर हरेक दुई-दुई वर्षमा आयोजना हुँदै आएको नेपालको एकमात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका अध्यक्ष समेत रहेका कोइराला यसअघि पनि FIDAF को बोर्ड अफ डाइरेक्टर तथा एसियाली महाद्वीपका लागि उपाध्यक्ष थिए। उनले नेपाली कला, संस्कृति, परम्परा र लोक नृत्यलाई विश्वसामु चिनाउन ८५ भन्दा बढी देशहरूमा नेपालको सांस्कृतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अतुलनीय योगदान पुर्याएका छन्।

