नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा सन् जनवरी ३१, २०२४ मा दर्ता भएको नेपाली डायस्पोराहरुको सामाजिक संस्था युनाईटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडिओ) ले अमेरिकामा आफ्नो राष्ट्रिय संगठन स्थापना गर्दै सभापतिमा व्यावसायी राजेश पाण्डेलाई मनोनित गरेको छ।
यसका प्रमुख संरक्षकमा एनआएनएका पूर्व अध्यक्ष एवं अस्ट्रेलियाका विश्वचर्चित व्यावसायी शेष घले रहेका छन् भने अन्तर्राष्ट्रीय सभापतिमा सफल ब्यबसायी न्यूयोर्क निवासी सोनाम लामा हुन्। सभापति लामा नेपाल र अमेरिकामा दुवै देशमा सुपरिचित व्यावसायी हुन्। युएनडिओले प्रवासी नेपाली समुदायलाई सशक्त बनाउने, विश्वभरिका नेपालीहरूबीच आपसी सम्बन्ध र सहकार्यलाई प्रवर्द्धन गर्ने तथा सामूहिक प्रयास र साझा स्रोतसाधनमार्फत नेपालको विकासमा योगदान पुर्याउने आफ्नो लक्ष लिएको छ।
युएनडिओ अमेरिकाका सभापति राजेश पाण्डे अमेरिकाको लस एन्जेल्स, क्यालिफोर्निया निवासी हुन्। उनि नेपाल र अमेरिका दुवै देशमा सफल व्यावसायी हुन्। राजेश पाण्डेको जन्मस्थल नेपालको नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका मदानपुर हो। सभापति पाण्डे सन् २००७ देखि अमेरिकामा बसोबास गर्दै आएकाछन्। उनको पाण्डे ग्रूप ईंक (जनरल होलसेल मर्कण्डाईज) र पाण्डे ग्रूप ईन्भेस्टमेण्ट (रियलस्टेट) मार्फत मल्टीमिलियन डलर बराबरको व्यावसाय सन्चालन गर्दछन्।
नेपालमा व्यावसायी पाण्डेको काठमाण्डौंको पर्यटन केन्द्र ठमेलमा आफ्नै १ रोपनी १० आना जग्गामा थ्रि स्टार होटल ‘कैलाशकुटी’ सन्चालनमा छ। झण्डै रू. डेढ अर्ब लगानी रहेको यो होटल चार तारे मान्यता प्राप्त गर्ने क्रममा रहेको छ।
त्यसैगरी, व्यावसायी पाण्डेको काठमाण्डौंकै मनमैजुमा दुई रोपनी आफ्नै जग्गामा अत्याधुनिक सुविधा सम्पन्न लोटस क्लव पनि सन्चालनमा छ।
व्यावसायी पाण्डे नेपाल च्याम्बर अफ कमर्स अमेरिकाको संस्थापक सदस्य हुन् भने नेपाल तयारी पोशाक संघको विदेश विभाग संयोजक रहेकाछन्।
यस बाहेक उनी अमेरिकाको क्यालिफोर्निया राज्यको नर्वाक सहरमा स्थापित श्री पशुपतिनाथ बुद्ध फाउण्डेशनको प्लाटिनम सदस्य पनि हुन्। फाउण्डेशनले पचास हजार डलरभन्दा बढी अनुदान दिने दाताहरूलाई प्लाटिनम सदस्यता प्रदान गर्दछ।
युनाईटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडिओ) अन्तर्राष्ट्रीय समितिले यहीं जुलाई १०, २०२६ मा UNDO USA लाई आफ्नो तेस्रो राष्ट्रिय संगठन (National Chapter) को रूपमा औपचारिक मान्यता प्रदान गरेको हो। सो मान्यतासंगै पाण्डेलाई प्रेसिडेण्ट मनोनित गरिएको हो। UNDO USA ले निकट भविष्यमा अमेरिका क्षेत्रका प्रवासी नेपालीहरूको प्रतिनिधित्व गराउँदै कार्यसमितिलाई पूर्णता दिईने र संगठन विस्तारको कार्यलाई अगाडि बढाउने जानकारी गराएकोछ।
यस अघि स्पेन र मकाउमा राष्ट्रिय संगठनहरु स्थापना र मान्यता प्रदान गरिएको छ भने क्यानाडा, युरोप, ओसियाना, एशिया र मिडिल ईस्टमा राष्ट्रिय संस्था बिस्तार गर्ने क्रम तिब्र रुपमा गरेको कुरा अन्तर्राष्ट्रीय महासचिव कृष्ण सन्जेल केसीले जानकारी गराएकाछन्।
