स्थानीय प्रतिनिधि, अमेरिका/महाशक्ती राष्ट्र अमेरिकाको क्यालिफोर्निया राज्यको सुन्दर शहर सान फ्रान्सिस्को बे एरिया वरपर बस्ने नेपालका भूमिपुत्र रैथाने याक्थुम्ङ् लिम्बू समुदायले बिरानो मुलुकमा आफ्नो कला संस्कृतिको धिपधिपे दियो जोगाउन, पहिचानको संरक्षण गर्न तथा नयाँ पुस्तामा पुस्तान्तरण गर्दै जाने गुदी नीति अनुरुप उनीहरुका अगुवा तुम्यांङ्हरुले स्थापना गरेको उनीहरुकै सामाजिक संस्था किराँत याक्थुङ् चुम्लुङ्को अगुवाईमा आफ्नो मौलिक पर्ब सिसेक्पा तङ्नाम् मनाएका छनl
याक्थुम समुदायको मूल ग्रन्थ मुन्धुममा बर्णन गरिएको चार पर्वहरू मध्ये एक यो पर्बको आफ्नै किसिमको महत्व रही आएको पाइन्छ। यस मौलिक पर्वमा घरको मुख्य ब्याक्तिले भालेको डाँकमै उठी मान्यता अनुसार कुखुराको सुली र माटोले बनेको शरीर स्नान गरि आफ्नो कोठेबारी वा बनपाखामा गै अररेको काँडा, सिस्नुको पात, सिकेक फुंङको थुङ्गा, काउलोको झ्याम्टा खोजि ल्याँएर बाबियोको डोरीमा बाँधी लामो माला जस्तो बनाई घरको मूल ढोका वा सम्भव भए पुरै घर वरिपरि बाँध दिने चलन छ।
सम्पूर्ण रित पुर्याई यसो गर्दा उनाजुगको पालामा जस्तै अहिले पनि आफ्नो समुदायले अनिकाल, दु:ख कस्ट तथा रोग चिन्ता बाट छुटकारा पाउने र त्यस पछि परिवार तथा समुदायको शुभ समय फर्की आउनुको साथै पुरै सृष्टि जगतकै सुब्बे फाब्बे हुदै जाने जन बिश्वास यो समुदायमा रहेको पाइन्छ।
बिशाल प्रसान्त महासागर किनारको बर्क्ली मरिनामा लिम्बू याक्थुङ्बाहरु भेला भै थाकथलोको सम्झना बिर्सना स्वारुप उहिले देखि खेल्दै आएको प्राचिन खेलहरुमा, छेलो हान्नेमा डेबिट लिम्बु, तीनपाने पार्ने हाँडी फोर्नेमा सुमित्रा राइ तथा साना नानीबाबुहरु बीच भएको अन्य प्रतियोगात्मक खेलहरुमा नानीबाबुहरुले खेल खेली एकै खेपमा आफु भन्दा ठुलो बढेमानको ट्रफीहरु जितेका थिए।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा थरि थरिका केलाङ् नाँच, हाक्पारे साम्लो, तरुनी तन्नेरीले एक अर्काको हात समाएर सर्माउदै ठुलो गोलो घेरा बनाइ पालम खिप्दै खाप्दै घुम्दै नाँच्ने शालीन धान नाँच तथा थिबोंङ्सा याक्थुमको शन्तानहरुले खादै पिउदै आएको भनिएको परम्परागत मौलिक खानाहरुमा मिठो याङबेन, अमिलो किनिमा, पिरो अकबरे, तिरिमिरी टिम्मुरको छोप, तितेमाछाको अचार तथा अन्य स्वादिष्ट परिकार रहेको थियो। उक्त कार्यक्रमको उद्घाटन नेपाल देखी आएका चर्चित पत्रकार विश्व लिम्बुले, दिप प्रज्जलन हर्ष बहादुर साँवाले गर्नु गरेका थिए।
