वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

Spread the love

नेपाल प्रहरी काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने बझाङ घर भएका २१ वर्षीय नरेन्द्र बहादुर धमेना, ललितपुर, महालक्ष्मी नगरपालिका-४ बस्ने कैलाली घर भएका २७ वर्षीया दर्शना भण्डारी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने रौतहट घर भएका ५० वर्षीय राजु प्रसाद कुसवाहा रहेका छन् ।

पक्राउ मध्ये नरेन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख रूपैयाँ, दर्शनाले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र राजु प्रसादले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४५ लाख १६ हजार ८ सय ९१ रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरेन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार र दर्शनालाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट तथा राजु प्रसादलाई काठमाडौं महानरपालिका-१ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।