सत्ता होइन संगठनको आत्मा बचाऊ, महाधिवेशन छल्दै चुनाव खोज्नु काङ्ग्रेसको आत्महत्या:पाण्डे

Spread the love

दोहा (कतार)-सत्ताको मोहमा नेपाली काङ्ग्रेसको संगठन, विधान र आन्तरिक लोकतन्त्रलाई किनारामा राख्ने प्रयास तीव्र बन्दै गएको बेला, कतारबाट एक काङ्ग्रेस कार्यकर्ताले पार्टी नेतृत्वलाई कडा चेतावनी दिएका छन्। नेपाली काङ्ग्रेस जनसम्पर्क समिति कतारका पूर्व सह–कोषाध्यक्ष तथा सामाजिक अभियन्ता तुलसीराम पाण्डेले महाधिवेशन नगरी चुनावमा जानु पार्टीमाथि गरिएको खुला षड्यन्त्र भएको आरोप लगाएका छन्।

नेपालको वर्तमान जटिल भूराजनीतिक अवस्था, सत्ता–गणित र आन्तरिक राजनीतिक चलखेललाई सूक्ष्म रूपमा विश्लेषण गर्दै पाण्डेले आगामी फागुन २१ मा चुनाव हुने आधार नरहेको स्पष्ट पारे। उनले भने, “चुनावको हल्ला केवल जनतालाई झुक्याउने धुवाँ हो। देखाउने दाँत एकथरी छन्, चपाउने अर्कै।” पार्टीभित्र सुधार र संगठन सुदृढीकरणको नाममा होइन, व्यक्तिगत स्वार्थ र सत्ता सौदाबाजीका लागि काङ्ग्रेसलाई नै बन्धक बनाउने खेल चलिरहेको पाण्डेको आरोप छ। यस्तो अवस्थामा नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लिएको अडानलाई उनले पार्टी बचाउने अन्तिम रेखा को संज्ञा दिएका छन्।

“१५औँ महाधिवेशन नगरी चुनावमा नजाने” महामन्त्रीद्वयको अडान पार्टी विधानको रक्षा मात्र नभई कार्यकर्ताको आत्मसम्मान र काङ्ग्रेसको लोकतान्त्रिक चरित्र जोगाउने निर्णायक कदम भएको उनको ठहर छ। यदि नेतृत्वले विधान र कार्यकर्ताको भावनाविपरीत जबर्जस्ती चुनावमा धकेल्यो भने, महामन्त्रीद्वयले सत्ता र पद त्यागेर जनतामाझ जाने निर्णय लिनुपर्छ भन्दै पाण्डेले भने, “त्यो कदम बीपी कोइरालाको घरफिर्ती अभियानभन्दा कम साहसिक हुँदैन।” 

काङ्ग्रेस कार्यकर्तालाई चेतावनी दिँदै पाण्डेले भने, “पार्टी भनेको घर हो। घर भत्किँदा कोही सुरक्षित हुँदैन। आज पद जोगाउन मौन बस्नेहरू भोलि राजनीतिक शरणार्थी बन्छन्।” प्रवासमा रहेर राजनीति गर्नेहरूलाई समेत लक्षित गर्दै उनले महाधिवेशन रोक्नु केवल व्यवस्थापनको विषय नभई नयाँ सोच, नयाँ नेतृत्व र युवा पुस्तालाई योजनाबद्ध रूपमा रोक्ने षड्यन्त्र हुनसक्ने गम्भीर आरोप लगाए। उनका अनुसार, पुरानो ढर्रा, गुट–उपगुट र सत्तामुखी राजनीतिले काङ्ग्रेस अब जोगिन सक्दैन।

अन्त्यमा पाण्डेले कडा शब्दमा निष्कर्ष निकाले, “आज चुनाव होइन, काङ्ग्रेसको आत्मा बचाउने कि बेच्ने भन्ने सवाल हो। पार्टी कमजोर भयो भने हाम्रो पहिचान, आस्था र भविष्य सबै ढल्छ।” महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानलाई व्यक्तिगत स्वार्थसँग जोडेर आक्रमण गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै पाण्डेले भने, आज उनीहरूको साथ दिनु भनेकै काङ्ग्रेस जोगाउने पक्षमा उभिनु हो।