नेपालको आम निर्वाचन फाल्गुन २१ को दिन नजिकै छ। साना-ठुला सबै दलहरु निर्वाचनमा होमिएका छन्। यो निर्वाचनको परिणामले आगामी अर्को निर्वाचनको नतिजा नहुँदा सम्मको लागि नेपालका राजनैतिक दलहरुको बरियता क्रम निर्धारण गर्नेछ। यो पटक बरियतामा बिगतको भन्दा आमुल परिवर्तन हुने कुरा राजनैतिक विश्लेषकहरुले गर्न थालेका छन्।
उसै पनि नेपालीहरुको सोसल मिडिया आम निर्वाचनले भरिएको छ। चुनावी प्रचारक र उम्मेदवारहरुको घर-दैलो, टोल मिटिङ्ग मात्र होइन नागरिक दैनिकी जस्तोकी खाना पकाउने, घाँस-दाउराका कुरा पनि जिन्दगीमा कहिलै नगरेको-नदेखेको जस्तो गरेर अजीव भिडियो बनाएर प्रायजसो उम्मेदवारहरु आफैंले पोस्ट गर्न थालेका छन्।
त्यहि ठाउँमा जन्मेर हुर्केकाहरुले त्यहाँको दैनिकी जान्दछन त्यो सत्य हो। तरपनि उनीहरुलाइ निर्वाचनमा मत माग्दा नै यस्तो गर्नुपर्ने कारण किन आइलाग्यो भन्ने जिज्ञास भने सबैमा छ। नेपाली राजनैतिक दलका नेता या उम्मेदवारहरुले नागरिक दैनिकी नै बिर्सिएर आफ्नै मात्र सुख बढाए। त्यसैले गर्दा अहिले नागरिकहरुसँग ‘जुवाको हल’ मिलेन। त्यसैले यस्तो हर्कत गर्नु परेको हो भन्ने आरोप आम मताधिकारहरुको रहेको छ।
अब कुरा गरौँ ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बारे
मंगोल नेश्नल अर्गनाइजेशनका सुरेश मार्पा, राप्रपाकी सजिना कार्की, पिपल्स फर्स्ट पार्टीका सनोज महत, उज्यालो पार्टीका पदम गोले, नेकपा माओवादीका भीमसेन घिमिरे-विपिन, नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जन, रास्वपाका बुद्धरत्न महर्जन, एमालेका चेतनाथ सञ्जेल र नेपाली कांग्रेसका उदय शमशेर राणा लगायतका दल र स्वतन्त्र गरी जम्मा २८ जना उम्मेदवारहरु ललितपुरको निर्वाचन क्षेत्र नम्बर १ को चुनावी मैदानमा छन्।
गत निर्वाचनका बरियातामा मुख्य दलमा परेका प्रतिस्पर्धी उम्मेदवारहरुले सो क्षेत्रका ३० वटै वडामा पहिलो चरणको भेटघाट सकेको कुरा बताएका छन। उनीहरुको भाषामा अब फागुन ४ पछिको सभा, र्याली, घरदैलो गर्ने दोस्रो चरण शुरु भएको छ। दलहरुले आ-आफ्ना प्रचार अभियानलाई तिब्रता दिएसँगै निर्वाचनको माहोल पनि तात्दै गएको छ।
विगतको खसेको मत, गठबन्धन र समानुपातिक मतको अध्ययन र यतिबेलाको प्रारम्भिक अवस्थालाई हेर्दा मुख्य प्रतिस्पर्धा एमालेका चेतनाथ सञ्जेल र कांग्रेसका उदय शमशेर राणाबिच नै हुने कुरा सो क्षेत्रका जानकार र विश्लेषकहरुले बताएका छन।
तर बदलिएको परिस्थितिमा रास्वपाका बुद्धरत्न महर्जन, उनेपाका पदम गोले र नेकपाका सुनिल महर्जनले पनि पछ्याइरहेको कुरा भने नकार्न सकिन्न। रास्वपाका बुद्धरत्न महर्जनले दक्षिण ललितपुर (पहाडी) क्षेत्रका वडाहरुबाट थोरै-थोरै मत ल्याउन सके पनि नेवारी घना बस्तीमा पुग्दा उनि बलियो रहेको कुरा उनि निकटले बताएका छन।
कांग्रेस उम्मेदवार उदय शम्शेर राणा-निवर्तमान सांसद
उदय शम्शेर राणा भारत अन्डरग्राजुएट र अमेरिकाबाट ग्राजुएट गरेका सालिन र सभ्य कांग्रेसी नेता मानिन्छन। कांग्रेसमा सभापति शेरबहादुर देउबा मार्का छोडेर पछिल्लो समय मध्येमार्गी नेता भएका उनि अचानक गगन थापा नेतृत्वमा सहमहामन्त्री हुन पुगे। यो ३६० डिग्रीको छलाङ्ग मारेपछि कांग्रेसभित्र उनीप्रति केहि प्रश्न भने उब्जिएका छन।
राणा यो क्षेत्रमा पाँचौँ पटक नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका छन्। त्यसमा उनले दुई पटक विजय र दुई नै पटक पराजय व्यहोरे। पछिलो पटक नेकपा माओवादीसँगको गठबन्धनबाट उनि बिजयी भएका हुन्। त्यसअघि यसै क्षेत्रमा सांसद राणाका पिता सागर शमशेर राणा ३ पटक लगातार कांग्रेसका उम्मेदवार भएर पराजय मात्रै भोगेका थिए।
उदय शम्शेर राणालाइ प्रतिपक्षले लगाउने आरोप चाहिं एउटै परिवारका बाबु छोरा गरेर ८ पटक लगातार सोहि क्षेत्रमा उम्मेदवार भइरहनु मतदाताका लागि दिक्क र वाक्क लाग्दो हो भन्ने छ। ८ पटक उम्मेदवार हुँदा करिब करिब ४० वर्षको राजनीतिक इतिहासको अवधि एउटै परिवारका लागि व्यतित हुन्छ। यो प्रजातान्त्रिक भएन भन्ने एमालेवालको कडा पनि आरोप छ। केहि कांग्रेसीहरु जो त्यो टिकेट कुर्दै थिए उनीहरु पनि यो कुरामा घुमाउरो रुपले सहमत भएको पाइन्छ।
तर त्यसलाई राणाले भने आफूहरुले भ्रष्टाचार नगरेको, क्लिन रहेको, क्षेत्रको पूर्वाधार विकास र आम नागरिकको काम गरेको छु। मेरो ब्यक्तिगत र पारिवारिक बिषयमा विवादित कुरा र स्वार्थ केहि पनि छैनन। अहिले प्रदेशको निर्वाचन नहुँदा मेरो क्षेत्रमा कांग्रेसमा मत-मतान्तर छैन। त्यसैले आफूले जित्ने कुरा दावी गर्छन राणा।
एमाले उम्मेदवार चेतनाथ सञ्जेल- बागमती प्रदेशका पूर्व सांसद
बहुदल पछि, यो क्षेत्रमा एमालेबाट मिठाराम शर्मा बजगाई दुई पटक, सुशीला नेपाल एक पटक, मधुसुदन पौडेल दुई पटक, नवराज सिलवाल दुई पटक उम्मेदवार भएका थिए। अहिले चेतनाथ सञ्जेलले पार्टीको टिकट पाउँदा पार्टीभित्रको लोकतन्त्र स्वभाविक भएको एमाले पक्षले मानेका रहेछन। बिगतमा गुटगत लडाई हुँदा जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यसँग केहि दुरी बढेको भएता पनि अहिले त्यो मत-भेद टुंगिएको कुरा उनले बताए।
चेतनाथ सञ्जेल यसअघि प्रदेशसभा सदस्यको दुई पटक उम्मेदवार भए अनि एक पटक विजयी भए। आफू विजयी हुँदाको कार्यकालमा गरेका विकास निर्माणका कार्यहरु अहिले पनि लोकप्रिय छन्, उनले भने। उनका निकटमा रहेका बागमती पालिकाका एक वडा तहका एमाले नेताका अनुसार, कार्यकर्ताबिच राम्रो पक्कड राख्ने खुबी भएका र सरल व्यक्तिका रुपमा सञ्जेल चिनिन्छन्। त्यसैले दक्षिण ललितपुर क्षेत्रमा उनि सहज छन।
सोहि क्षेत्रको इकुडोलमा जन्मेर, प्यूटारमा हुर्केका सञ्जेल क्षेत्रको सदरमुकाम मानिने मुख्य ठाउँ चापागाउँकै स्थायी बासिन्दा भएका हुन्। तीन-तीन वडाको प्रतिनिधित्व गर्ने उनको भूगोलको राजनीतिको नाताले उनलाई महत्वपूर्ण फाइदा भएको मान्छिन्। उनका प्रतिस्पर्धी राणा क्षेत्र नम्बर ३, कुपन्डोलका हुन्। रास्वपाका महर्जन सिद्धिपुरका हुन्। यी दुवै प्रतिस्पर्धीहरु क्षेत्र बाहिरका हुनुले पनि आफुलाइ फाइदा भएको, चिनाई रहनु नपर्ने कुरा सञ्जेलले बताए। त्यसैले आफू बलियो रहेको कुरा उनको दावी रहेको छ।
