राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला गएकी छन्।
डा. कार्कीको सचिवालयद्वारा जारी प्रेस नोटका अनुसार, विश्वव्यापी जनस्वास्थ्य तथा संसदीय नेतृत्वको क्षेत्रमा सक्रिय संस्था UNITE Parliamentarians Network for Global Health ले डा. कार्कीलाई आफ्नो संसदीय प्रतिनिधिमण्डलमा सहभागी हुन विशेष निमन्त्रणा दिएको हो।
फिलिपिन्स सरकारको आयोजनामा तथा विश्व स्वास्थ्य संगठन (WHO) र संयुक्त राष्ट्रसंघीय बाल कोष (UNICEF) को सहआयोजनामा आगामी नोभेम्बर १८ र १९ मा बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा विभिन्न देशका मन्त्रीहरू, वरिष्ठ सरकारी अधिकारी तथा सरोकारवालाहरूको सहभागिता रहनेछ।
सम्मेलनअघि नोभेम्बर १६ मा UNITE, विश्व स्वास्थ्य संगठन र Project Everyone को सहकार्यमा तथा Children’s Investment Fund Foundation (CIFF) को सहयोगमा विशेष संसदीय नेतृत्व कार्यक्रम (Parliamentary Leadership Lab) आयोजना हुनेछ।
उक्त कार्यक्रममा बालबालिकामाथि हुने हिंसालाई जनस्वास्थ्यको प्राथमिकताका रूपमा सम्बोधन गर्ने, हिंसाको रोकथाम तथा प्रभावित बालबालिकाका लागि प्रभावकारी स्वास्थ्य र संरक्षण प्रणाली विकास गर्ने विषयमा छलफल हुनेछ।
बालबालिकामाथि हुने हिंसा जनस्वास्थ्य र राजनीतिक नेतृत्व दुवैका लागि गम्भीर चुनौती हो। यसको असर बालबालिकाको तत्कालीन जीवनमा मात्र सीमित नभई उनीहरूको जीवनका विभिन्न चरणसम्म रहन सक्छ। हिंसाले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य, समग्र कल्याण, शिक्षा, सुरक्षा र सामाजिक विकासमा प्रत्यक्ष तथा दीर्घकालीन प्रभाव पार्न सक्छ।
यस्ता हिंसाको रोकथाम र प्रभावकारी सम्बोधनका लागि स्वास्थ्य सेवाको सुधार मात्र पर्याप्त हुँदैन। निरन्तर राजनीतिक प्रतिबद्धता, प्रभावकारी कानुनी व्यवस्था, पर्याप्त स्रोतसाधन तथा स्वास्थ्य, शिक्षा, न्याय र सामाजिक संरक्षणका निकायबीच सुदृढ समन्वय आवश्यक हुन्छ। यसै सन्दर्भमा सम्मेलनले बाल संरक्षणलाई जनस्वास्थ्य तथा सार्वजनिक नीतिको साझा प्राथमिकताका रूपमा अघि बढाउने विषयमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ।
कार्यक्रममा विभिन्न देशका सांसद तथा विज्ञहरूले बालबालिकाको स्वास्थ्य र सुरक्षाका लागि आवश्यक कानुनी व्यवस्था, दिगो वित्तीय स्रोत, संसदीय निगरानी तथा अन्तरक्षेत्रीय समन्वयका विषयमा छलफल गर्नेछन्। सहभागी सांसदहरूलाई सम्मेलनपछि आआफ्नो देशमा अघि बढाउन सकिने व्यावहारिक पहल पहिचान गर्नसमेत प्रोत्साहित गरिनेछ।
UNITE ले डा. कार्कीलाई पठाएको औपचारिक निमन्त्रणापत्रमा उहाँको चिकित्सकीय पृष्ठभूमि र संसदीय भूमिकालाई विशेष महत्त्व दिँदै बालबालिकामाथि हुने हिंसाको रोकथाम तथा त्यसलाई जनस्वास्थ्यको चुनौतीका रूपमा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय छलफलमा उहाँको अनुभव र दृष्टिकोण महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।
पेशाले जनरल सर्जन रहनुभएकी डा. कार्की स्वास्थ्य सेवा सुधार, जनस्वास्थ्य, नागरिकको स्वास्थ्य अधिकार तथा स्वास्थ्य प्रणालीको सुदृढीकरणका विषयमा सक्रिय रहँदै आउनुभएको छ।
यस अन्तर्राष्ट्रिय सहभागिताबाट बालबालिकामाथि हुने हिंसाको रोकथाम, प्रभावित बालबालिकाका लागि स्वास्थ्य तथा संरक्षण सेवाको पहुँच, नीतिगत सुधार र प्रभावकारी संसदीय पहलसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास तथा अनुभवबारे जानकारी आदानप्रदान हुने अपेक्षा गरिएको छ।
