रास्वपा सभापति लामिछानेद्वारा संयमता र सतर्कता अपनाउन आग्रह

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा सुरु भएको पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो फेसबुकमा पोस्ट गरेका छन्,  अन्तर्राष्ट्रिय सम्बन्ध र भू-राजनीतिक सन्तुलनका दृष्टिले परिस्थितिलाई अत्यन्तै संवेदनशील भन्दै विश्व समुदायलाई अधिकतम संयमता अपनाउन र नेपाली नागरिकको सुरक्षाका लागि सरकारलाई विशेष तयारीमा रहन आग्रह गरेका हुन्।

सभापति लामिछानेले मध्यपूर्वमा विकसित भइरहेका पछिल्ला घटनाक्रमले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध र भू-राजनीतिक सन्तुलनका दृष्टिले यो परिस्थिति अत्यन्तै संवेदनशील रहेको ठहर गरेका छन्। सबै पक्षलाई अधिकतम संयमता अपनाउन र समस्याको समाधान संवाद एवं कूटनीतिक माध्यमबाट खोज्न अपिल गरेका छन्।

मध्येपूर्व क्षेत्रमा विकसित घटनाक्रमले विशेषगरी यूएई, कतार, बहराइनलगायत खाडी मुलुकहरूमा सुरक्षा अवस्था थप संवेदनशील बन्ने जोखिम देखिएको छ। ती देशहरूमा लाखौं नेपाली कार्यरत रहेकाले उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भीर चासो उत्पन्न भएको उनको भनाइ छ ।

लामिछानेले सरकारसँग सम्बन्धित देशस्थित नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्न आग्रह गरेका छन्। साथै आवश्यक परे तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न, आपतकालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाउन र नेपालीको अवस्थाबारे नियमित तथ्यगत जानकारी सार्वजनिक गर्नसमेत उनले जोड दिएका छन् ।

नेपाली नागरिकको सुरक्षा सर्वोपरि दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्नेमा उनले ध्यानाकर्षण गराएका छन् । इन्धनको आपूर्ति प्रणालीमा आउन सक्ने अवरोधले जनजीवन र अर्थतन्त्रमा पार्ने प्रभावबारे समेत बेलैमा सचेत रहन पनि उनले सरकारलाई आग्रह गरेका छन् ।