राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यो निर्वाचनपछि रास्वपा सरकार बनेपछि २०४६ सालपछिका सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष छानबिन गर्ने बताएका छन्। बागमती प्रदेशको राजधानी हेटौँडामा सोमबार आयोजित चुनावी सभामा लामिछानेले यस्तो उद्घोष गरेका हुन्। जसले बिराएको छैन, उसले डराउनुपर्दैन तर जसले बिराएको छ त्यसलाई हामी छोड्दैनौँ। किनकी सुशासन हाम्रो पहिलो प्राथमिकता हो, उनले भने।
यति मात्र होइन सभापति लामिछानेले आगामी दिनमा शिक्षकहरूलाई राजनीतिक दलको भोट बैंक बन्न नदिने पनि बताए। संगठनको नाममा भोट बैंक बनाउने प्रवृत्तिको अन्त्य गर्ने दाबी उनको छ। शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्छ, शिक्षा नीति विद्यार्थीको हितमा बन्नुपर्छ र त्यो जिम्मेवारी रास्वपा सरकारले लिनेछ, उनले भने।
