Headlines

ललितपुर महाङ्काल बाढीपहिरो पुन:निर्मणमा ढिलाई

केदारनाथ दाहाल/ललितपुर,असोज ११ र १२ गतेको अविरल वर्षा र त्यसपछि आएको बाढी-पहिरोले महाङ्काल गाउँपालिकामा ठूलो धनजनको क्षति पुर्‍यायो। बाढी र पहिरो गएको आठ महिना बितिसक्दा पनि त्यस रातको त्रासदी पीडितहरूका लागि अझै ताजा छ। विस्थापितहरू अझै अस्थायी टहरामै बस्न बाध्य छन्।

सुरुवाती दिनहरूमा संघ, प्रदेश र स्थानीय सरकारले उद्धार तथा राहत कार्य गरे पनि अहिले ती प्रयास सुस्त भएका छन्। मनसुन नजिकिँदै गर्दा थप जोखिम बढेको देखिन्छ।

गाउँपालिकाले दिएको तथ्याङ्कअनुसार, उक्त विपत्तिमा १३ जनाको मृत्यु भयो भने १८२ घर आंशिक एवं पूर्ण क्षति हुन पुगे। सयौँ परिवार घरवारविहीन बने। ५५४ घर बाढीबाट प्रभावित बने। तीमध्येका एक हुन् उत्तम तिमल्सिना। उनले बाढीमा आमा, दाइ, भाउजू र आफ्नो पुर्ख्यौली घर मात्र होइन, जीवनको आशा नै गुमाए।

“आमाबुबाले जीवनभर दुःख गरेर कमाएको घर र हामी दाजुभाइको पसिनाले जोगाएको सम्पत्ति रातारात बगायो। सामाजिक सञ्जालमा भएको फोटो बाहेक केही पनि बाँकी छैन,” उत्तम भावुक हुँदै भन्छन्, “राहत त आयो, तर हराएको परिवारको खुसी अनि आफू बाँच्ने आशा कहाँबाट ल्याउने?”

महाङ्कालका वडा नं १, २ र ३ बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भए। ती क्षेत्रमा घर, खेतबारी, बाटो, र खानेपानीका मुहानहरूसमेत नष्ट भएका छन्।

विपतपछिको उद्धार कार्य गाउँपालिकाले आफ्नै डोजर र सञ्चित डिजेल प्रयोग गरेर सञ्चालन गर्‍यो। तर पुनःस्थापनाको काम भने अघि बढ्न सकेको छैन। स्थानीयहरू भन्छन्, “संघीय र प्रदेश सरकारका मन्त्रीहरू आएर दृश्यावलोकन मात्र गरे, तर पुनःनिर्माण अलपत्र छ।”

गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीका अनुसार, हाल थोरै बजेटको प्रबन्ध गरी बाढी रोकथामका लागि टेन्डर आह्वान भएको छ। तर समय कम भएकाले कामले गति लिन नसकेको उनी बताउँछन्।

“संघीय र प्रदेश सरकारको समन्वय ढिलो छ। काम समयमा सम्पन्न नभए अझ ठूलो जोखिम हुन सक्छ,” अध्यक्ष केसी भन्छन्। गाउँपालिकाले बजार क्षेत्र वरपर थुप्रिएका ग्राभेल, ढुङ्गा–गिट्टी हटाउने काम गरिरहेको छ।

उनका अनुसार “गाउँपालिकाको आफ्नै खर्चले हुनेसम्मका रोकथामका प्रयास गरिएको छ।” तर प्राकृतिक विपत्ति लाई यसले रोक्न सक्दैन। “विगतका वर्षहरूको जस्तो सामान्य वर्षा हुँदा कुनै क्षति नहोला तर गत असोजको जस्तो पानी पर्‍यो भने क्षति अझ भयाभय हुन सक्छ हामीले जति ध्यान पुर्‍याएका छौँ “त्योभन्दा बढी प्रदेश र केन्द्रीय सरकारले ध्यान दिनु जरुरी रहेको उनी बताउँछन्।

बाढी पहिरो बाट घर गोठ क्षति भएका धेरै विस्थापित परिवारले गाउँ नै छाडेका छन्। बाँकी अधिकांश अस्थायी टहरा, छिमेकीको गोठ वा घरमा बसिरहेका छन्। बालबालिका, महिला र जेष्ठ नागरिकमा यसको प्रत्यक्ष असर देखिएको छ। खेतीयोग्य जमिन पुनर्निर्माण गर्न दशकौं लाग्न सक्ने अनुमान गरिएको छ।

परिवारमा आफ्नी श्रीमती दुई छोरा र एक छोरी गुमाएका मानिखेल २ का डुकुमान स्यान्ताङले परिवार गुमाउँदाको पीडा पोख्दै भने -“अन्त जाउँ भने कतै ठाउँ छैन। आफ्नो भएको परिवार आफ्नो संसार पहिरोले लग्यो, अहिले नेपाल सरकारले राहत स्वरूप उपलब्ध गराएको पैसाबाट अलिक सुरक्षित ठाउँमा घर निर्माण गर्दैछु।” उनले भक्कानिँदै स्वर मिलाए “सरकारबाट राहत त पाएँ तर भविष्यप्रतिको आशा गुमाए”

स्थानीय ठुलीमाया थोकर भन्छिन्, “पहिला घर गुमायौँ, अब फेरि बर्खाको डर छ। कहिले फेरि पहिरो आउला भन्ने चिन्ता हुँदैछ।” महाङ्कालको असोज ११ र १२ को त्यो रातले सयौँको जीवन बदलिदियो। तत्कालीन राहत पर्याप्त थिएन, अब पुनःस्थापनाका कार्यहरू तीव्र गतिमा अघि बढाउन राज्य गम्भीर हुन आवश्यक छ। यदि बाढी र पहिरोको रोकथाम समयमै गर्न सकिएन भने, विगतको विपद् अझ भयावह रूपमा दोहोरिन सक्छ।

Leave a Reply