ललितपुर।०८१ माघ २१ गते/प्रतिनिधि सभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताएका छन्। ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उनले बताए।
माझखण्ड पर्यटन परियोजना अन्तर्गत डेस्टिनेसन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केबुलकार शिलान्यास कार्यक्रममा बोल्दै आज प्रतिनिधिसभा सदस्य राणाले उक्त योजनालाई बुद्धिमताका साथ अगाडि बढाउन सुझाव दिए । उनले यस क्षेत्रको जनजीविका, रहनसहन, कृषि उद्योग र पशुपालन नै आकर्षणको केन्द्र बनाउन सकिने बताए। पर्यटनमा यहाँको सम्भावना प्रवल छ, सबै राजनीतिक दल, जनप्रतिनिधि प्रतिबद्धता भएर व्यावसायिक रूपमा बजारीकरण गर्नुपर्छ, उनले भने ।
बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेलले पर्यटन प्रवर्धनका लागि सुरु गरिएको उक्त योजनाको सफलतासँगै ललितपुरको आर्थिक विकासमा ठुलो टेवा पुग्ने बताए । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज हरि दाहालले काम गर्न खोज्दा धेरै दुःख र अल्झनहरू आउन सक्ने बताउँदै ललितपुरको रमणीय ठाउँ माझखण्डको मुहार फेर्नमा केबुलकार निर्माणको काम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
डेस्टिनेसन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिकासँग समन्वय गरेर काम गर्ने बताए। यो केबलकार नेपालकै पहिलो युरो स्ट्याण्डर्ड सर्टिफाइड हुने पनि कम्पनीले जनाएको छ। काठमाडौँबाट हेटौँडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट सुरू हुने केबुलकारमा माझखण्डसम्मको २.८ किमीको यात्रा बिनाटावरको स्टेशन टु स्टेशन हुने पनि कम्पनीका अध्यक्ष सञ्जेलले बताए।
सञ्जेलले भने,‘माझखण्ड केबल कारले नेचर, कल्चर र एडभेन्चरको संयोजनसहित पर्यटक र तीर्थयात्रीहरूका लागि एक अद्वितीय प्याकेज सिर्जना गर्ने छ । चाहे तपाईं शान्ति, आध्यात्मिकता वा उत्साह खोज्नुहोस्, माझखण्ड तपाईंको उत्तम गन्तव्य बन्छ। महारुद्रेश्वर महादेव, विश्वकै ठुलो थाङ्का (७०/६० मिटर) प्रदर्शनस्थल तथा बौद्ध गुम्बा र बिहारसहितको धार्मिक धाम पनि रहेको हुँदा पर्यटन प्रवर्धनका लागि यो केबुलकार निर्माण थालिएको कम्पनी सञ्चालक डोलकेशर दहालले बताए।
बागमती गाउँपालिकाको वडा नं. ३ बाट वडा नं. ५ माझखण्ड जोड्ने केबुलकारको दुरी दुई दशमलव आठ किलोमिटर रहने छ । कम्पनीका अनुसार १ अर्ब २० करोड लगानीमा केबुलकारका साथै होटल, फनपार्कलगायत सञ्चालन हुने जनाइएको छ । आगामी १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ।