परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न विदेशस्थित सबै राजदूत एवं कूटनीतिक नियोगका प्रमुखहरूलाई निर्देशन दिएकी छन्।
आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको एक अभिन्न अंगका रूपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकांक्षा र आर्थिक वृद्धिका लागि सहयोग पुर्याउने गरी कुनै पनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा आर्थिक लगानी आकर्षित गर्न सहयोग पुगोस् । आफू रहेका देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिन सक्छ र नेपालको आर्थिक विकासका प्रयासहरूलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्नेबारेमा सोचेर काम गर्न पनि उनको निर्देशन थियो।
मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेर अलग्गै महाशाखामार्फत काम गर्न लागेको छ। नेपालका सबै नियोगले आर्थिक कूटनीतिका मध्यमबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने काममा लाग्नुपर्नेमा परराष्ट्रमन्त्री राणाको जोड थियो। विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरूले आर्थिक कूटनीतिका माध्यमबाट आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरूलाई विश्व बजारसम्म पुर्याउन आवश्यक छ, परराष्ट्रमन्त्री राणाको भनाइ छ। उनले नेपाली उत्पादन एवं पर्यटनको सम्भावनालाई विश्व बजारमा प्रवर्द्धन गर्ने कामका लागि आफू रहेका स्थानहरूमा समय-समयमा आयोजना हुने मेला, महोत्सव एवं प्रदर्शनीमा सहभागी हुन पनि निर्देशन दिइन्।
नेपालले आगामी दिनमा जलवायु परिवर्तनका कारण भोग्न सक्ने समस्याहरूलाई ध्यानमा राखेर जलवायु न्यायको विषयलाई विश्वव्यापी रूपमा पैरवी गर्नुपर्ने अवस्था आएको पनि परराष्ट्रमन्त्रीको भनाइ थियो। ‘त्यसतर्फ ध्यानाकर्षण गराउँदै निकट भविष्यमै नेपालमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमको सफलताका लागि पनि आ–आफ्ना ठाउँबाट लाग्न मन्त्री डा. राणाले सबैलाई आग्रह गर्नुभयो,’ प्रेस सल्लाहकार पाठकले भने।