-शीतल निश्चल, गोरखा, लप्सीबोट, अक्टुवर ३०, २०२३
आँखामा रङ्गीन सपना बोकेर
शरीरमा बगेको भावनाको रगत
पाखुरामा पूर्णरूपमा भरिएको छ
साहस र हिम्मतको जोस
यी बलवान हात्तीका
सुँडहरूले साँडे जुधाइको खेल
धेरै पटक खेलेको छ
खुलेआम युद्धको मैदानमा
सिनोको करङमा उभिएर
तोपहरूको भरोसामा टेको लाग्नु
बाँचेर पनि मर्नु हो ।।
दापको तेजिलो खुकुरी
रक्षक कर्दा र चक्माको
खेल हेरेर जग्मगाउँदै छ कम्मरमा
रणभूमिमा रातो रगत उम्लिएको छ
बन्दुक शीर ताकेर बसेको छ
भीम विभीषणको खोजीमा
निस्केको छ
दम्भको खेल खेलेर अघाउँदैन
इन्द्रजाल बुन्ने कालो माकुरो ।।
विश्वासको खेल खेलिरहेछ
चस्माको पावरले
सुनौला अक्षरहरूमा
लपेटिएको छ अग्रज गुरुको
घोकन्ते विद्या
सारिएको छ दुस्साहसका
क्याप्सुलहरू
हिरासतमा थुनिएको छ
टुकीभित्रको दार
सल्किएको छ मट्टीतेलमा
आगोको ज्वाला
छातीमा वीरताको तक्मा
बोकेर दौडिरहेछ
अटुट अदम्य साहस ।।
विश्वासका पर्खाल भत्किएको छ
आमा लाहुरेहरूको
जीवनकथा पढ्दैछिन्
शीतयुध्दको लडाइँ सकिएको छ
रामले रावणको हत्या गरेको छ
महिषासुर अकालमा मरेको छ
साधुहरू ताण्डव नृत्य गरिरहेछन्
बघिनीहरू रातो मुखले
दुध पिउँदैछन्
डमरू आपसमा लुकामारी खेल्दैछन्
सिनोको करङ्गमा उभिएको बाघ
अनिकालको उत्सव मान्दामान्दै
मृत्युको चपेटामा थलिएको छ
आराम पाएको छैन धुकधुकी
बाँकी छ
दिनहुँ आगो बल्ने बृहत् चिहानमा ।।
शीतल निश्चलका कविताहरु
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु