-शीतल निश्चल, गोरखा, लप्सीबोट, मार्च १२, २०२३
एउटै सिट एउटै बसको यात्रा
आँखामा आँखा जुध्नु
छेवैमा भएपछि कुराकानी चल्नु
ओर्लिदा होस् बस चढ्दा होस्
नजिकको पात्र बनेर आपसमा
मायाँ प्रेम गुनगुनाउनु
जिन्दगीको यात्रा रहेछ !!
घामका किरणहरू
आँखाअगाडि नआउँदै
यात्रा चलिरहेको थियो
एकोहोरो विक्षिप्त सडकमा
उनका आँखा लम्पसार थिए
बेलाबेला सोधिरहन्थिइन्
यो गाउँ, यो ठाउँ, यो पहरा
खोलानाला र कञ्चन हिमाल
कस्तो सुन्दर छ है हाम्रो नेपाल !!
उनले सोध्ने प्रश्न मैले उत्तर दिने
लगभग अनुरागमय थियो
सवालको जवाफ दिनु मेरो कर्तव्य
मैले भनेँ
यो देशमा हजुर अझ सुन्दर
यो फूलैफूलको देशमा हजुर त !
पुष्पविमानमा यात्रा गरेकी
लाग्छ स्वर्गकी अप्सराजस्तै
आजको यात्रामा यही सोचिरहेछु !!
मेरो थोरै नसा लिने आदत
सम्बोधनबिना नै चुरोट सल्काइहालेँ
उनी रिसाइन् !
तपाईंको चुरोट खाने बानी रहेछ
म पेट्रोल बोकेर हिँडेको व्यक्ति हुँ
यात्रा कहाँसम्म पुग्ने हो हजुरको
म हजुरको यात्रा बुझिरहेछु !!
नछुनुहोस् मलाई हातमा सलाई बोकेर
म सल्किन सक्छु
हजुर सल्किन सक्नुहुनेछ
म राप, ताप र पीडाले
खडेरीले सुकेको ढोडजस्तै सुकेकी छु
घामका किरणहरूले ,
आगोको रापले
मुटुभरि गाँठो परेको पीडाले !!
तपाईं आगो बालेर
धुवाँको ताप खोज्नुहुन्छ
म आगो छोडेर
खुल्ला आकाश खोजिरहेछु
किनभने म पेट्रोल हुँ
म कुनैदिन रित्तिन,
जल्न सक्छु !!
समयको मापनसँगै
उनको र मेरो यात्रा टुङ्गियो
सँगैको यात्रा र सिट रित्तियो
मैले सल्काएको एक खिल्ली चुरोट
खरानी बने जसरी !!
शीतल निश्चलका कविताहरु
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु