-Sital Nishchal

सपना !

Hollywood Khabar December 27,2022 Comments

-शीतल निश्चल, गोरखा, लप्सीबोट, डिसेम्बर २७, २०२२

 

हरियो पासपोर्ट

हिजो भर्खरै लिएको हुँ

अब कतै जानुपर्छ भनेर सोचिरहेछु

कल्पनामा डुबेर !

 

धन, दौलत, माया, प्रेम र अभाव !!

कति मुस्किलका रहेछन्

तगारा बन्दा रहेछन्

मान्छेलाई मान्छे बनाउन !!

 

हुन त मेरो देश

विश्वमा जलस्रोतमा

दोस्रो धनी देश !

थाहा छ मलाई

यहाँ बर्सेनि बाढी पीडितहरू

आफ्नो झुपडी सारिरहन्छन्

खोजिरहन्छन् प्यासले तड्पिँदै

पानीका थोपाहरू !

 

गर्व लाग्छ

ऋतु ऋतुहरूको सङ्गमले

भरिपूर्ण मेरो देश

संसारका हरेक कुनामा

भित्ताभरि तस्बिर बनेर झुन्डिरहेछ

शालीनता र सौन्दर्य बोकेर

सगरमाथाभन्दा अग्लो

सपनाको उचाइमा पुगेर

मीठो सपना बोकी झुन्डिरहेछु

खाडीको मरुभूमिमा !!

 

मैले

थलिएकी आमा बचाउनु छ

कृषि औजारहरूले माटो कोट्याइरहने

बाको हत्केलामा

ठेलाहरूले मेटिएका

हस्तरेखाहरू कोर्नु छ !

 

बिहेपछि

कुनै शृङ्गार नपाएकी

श्रीमतीलाई

शृङ्गारले सजाउनु छ

बनाउनु छ

बालबच्चाहरूको भविष्य

र, सके

आफैँले पनि हेर्नु छ

सुनौलो संसार !