-शीतल निश्चल, गोरखा, लप्सीबोट, जनवरी २९, २०२३
बिहानीपख मेरो घरको आँगनमा
बिस्कुनजस्तै फिँजिदै आउँछ
रहर लाग्दो झुल्के घाम
हिमशृङ्खलाको टाकुराबाट
न्यानो अभिवादन गर्दै
हिमालय पर्वत थिचोलेर !!
जाडो मौसम
हप्ता दिनसम्म लगातार परेको हिमपात
दाउराको जोहो गर्न नसकेर
रातभर नबलेको चिसो अगेनो
जिन्दगीको गरुङ्गो भारी बोक्दा बोक्दै
उठाउन नसकेपछि
लौरोको टेको लगाएर उठेकी
मेरी बुढी आमा !!
वर्षौँ पहिले
बाले किनिदिएको पुरानो बर्को ओडेर
आँगनको एकफेरो चकटीमाथि
लामो सास फेर्दै टुसुक्क बस्नुहुन्छ
कारण
घामका ताता किरणहरू आएर
आमाको आङमा धपक्कै बल्दथ्यो !!
आमा सदा झैँ
भगवानको पूजन गरेर एकाग्र मनले
सूर्यलाई प्रणाम गरिरहनुहुन्थ्यो
गुनगुनाइरहनुहुन्थ्यो
यो सास्ती जीवन बिसाउन पाए
एक जुनी शान्ति मिल्थ्यो
परलोक पुगेर पनि !!
जिउँदो भएर पनि मृत्युबोध हुनु
निकै सकस रहेछ
जब घाम डुबेपछि उज्यालो आउँदैन
उज्यालो आउनलाई पनि त पृथ्वीले
अन्य ग्रहलाई कयौँ पटक परिक्रमा गर्नुपर्छ
सायद
मेरी आमालाई यस्तै भावनाले पिरोलिरहेछ
कहिले मनको पीडा सुनाउनुहुन्छ
कहिले रुनुहुन्छ !!
पुस र माघको जाडो याम
पहिले भन्दा बढी हिमपात
बढ्दो लगातार झरीले
एक्कासि महिमापूर्ण घाम डुब्यो
घरको अगेनामा शीतका थोपाहरू
त्वाप्प, त्वाप्प चुहिन थाले
आमाले ओडिरहने पुरानो बर्को
पातलिँदै गयो
वर्षौपछि एक्कासी उच्च वायुमण्डलीय
मौसमी परिवर्तनको कारणले गर्दा
हिउँदको जाडो धान्न नसकेपछि !!
आज नदीको किनारमा
एउटा घरको मूल खामो
आगोले दनदनी बलेको छ
परलोक पुग्ने सपना बुनेर !!
शीतल निश्चलका कविताहरु
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु