-शीतल निश्चल, गोरखा, लप्सीबोट, जनवरी २, २०२३
माइतीघरको बिहे मण्डपबाट
विदाई गरेको केही दिन पछि
मनभरिको रहर दैवले लुटेपछि
यो फूलै फूलहरूको देशमा
सप्तरङ्गी फूल खोज्न हिँडेकी
मेरी ठूली दिदी
देवघाटको त्रिवेणी नदीको पल्लो किनारमा
पहेँलो वस्त्रमा हातमा कमण्डलु बोकेर
आफ्नो अधिकार खोज्दै छिन् अरे ?
हरेक दिन पहेँला र सेता
फूलका गुच्छाहरू बोकेर
एकदिन उनलाई भेटेर भन्नु छ
अब कहिल्यै फर्कदैनन् दिदी
तिम्रा रहरहरू
यो मान्छे जल्ने चिहानमा
भो गुनासो नगर ।।
आफू आफैँमा स्वतन्त्र हुँदा हुँदै
आमाले भुटेको एक घान मकै जस्तै
कसैको पोल्टामा
पोखिएकी मेरी माइली दिदी
बिहेपछि सिँउँदोभरि सिन्दुर
हातभरि रातो र हरियो चुरा लगाएर
शरीरभरि गहनाले धपक्कै बलेकी छन्
सायद
यो संसारको कुनै कुनामा फुलेका
हरेक सप्तरङ्गी फूलहरू
मग मग मग्मगाइरहेछन्
मनभरि उमङ्ग बोकेर
एकदिन उनलाई भेटेर भन्नु छ
यसरी नै फुलिरहून्
जिन्दगीमा सप्तरङ्गी फूलहरू
तिमीलाई शुभकामना ।।
भर्खर भर्खर
फूलका रङ्गहरू चिन्न सक्ने भएकी
मेरी कान्छी बहिनी
एउटा गुलाबको थुङ्गा शिरमा सजाउँछे
अर्को गुलाबको थुङ्गा मनमा सजाउँछे
यी फूलका थुङ्गाहरूसँग
आफ्नो मायाँ साटासाट गरिरहन्छे
किनकि उसको मुहारमा
भर्खर गुलाबका लालीहरु चढिरहेछन्
एकदिन उसलाई पनि सम्झाउनु छ
तिमीले सजाएका
यी सप्तरङ्गी फूलहरू मध्ये
कुन फूलले जिन्दगी रङ्गिन्छ
थाहा हुँदैन बहिनी
तेसैले तिमी
गुलाबी फूल नरोज ।।
मैले सम्झाउनु छ हरेक आमालाई
मैले सम्झाउनु छ हरेक दिदी बहिनीहरूलाई
मैले सम्झाउनु छ हरेक आफन्तहरूलाई
यो सप्तरङ्गी दुनियाँमा
आफ्नो जिन्दगी नखोज ।।
सितल निश्चलका कविताहरु
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु