-Sital Nishchal

पवित्र तुलसी र रुद्राक्ष

Hollywood Khabar January 22,2023 Comments

-शीतल निश्चल, गोरखा, लप्सीबोट, जनवरी २२, २०२३

 

पूर्वको टिष्टा र पश्चिमको काँगडा

एउटा सिङ्गो नेपाल बनाउन

कयौँ सङ्घर्ष गरेका थिए

वीर पुर्खाहरूले

त्यति नै सङ्घर्ष गरेको थिएँ साथी

तिम्रो सम्बन्ध पूर्व मेचीको

रुद्राक्ष मालासँग

अनुरागमय बनोस् भनेर !!

 

मैले आकर्षक रुद्राक्ष माला

सहजै भिरेको थिएँ गलामा

केही समय त लाग्थ्यो

जिन्दगीमा ठुलै पासो आएर

घाँटी थिचेको छ

किनभने

रुद्राक्षका दानाहरूले मेरो छातीमाथि

बारम्बार टेकिरहन्थे

मेरो शरीरमा स्पर्श गरिरहन्थे

साथी तिमीलाई मेरो प्रणाम छ

यति जतन गरिराखेको रुद्राक्ष माला

दरौँदी नदीको दोभानमा

पवित्र मन्दिरलाई साक्षी राखी

जिन्दगीभर बुझाएको छु

तिम्रो र रुद्राक्ष मालाको सम्बन्ध

युगौँ युगसम्म बाँचिरहोस्

मेरो कामना छ !!

 

मैले त तिमीभन्दा पहिला नै

तुलसी चन्दन लगाएर

तुलसीको माला गलामा भिरेको छु

रुद्राक्ष माला जुन दिनदेखि

तिम्रो गलामा पहि~याउने आकाङ्क्षा बढ्यो

त्यही समयदेखि मैले

पवित्र तुलसीमा जल चढाउन बिर्सिएँ

फूल चढाउन बिर्सिएँ

जिउँदो हुँदा होस् या मर्दा होस्

पवित्र तुलसी चाहिन्छ भन्ने बिर्सिएँ

त्यसैले आजकल

मेरो घरको आँगनमा

तुलसी मौलाएर आउँदैन साथी !!

 

आउन त आउँछ घरको आँगनीमा

वासना छरेर

जब मेरो अपवित्र मन बुझ्छ

अनि फर्कन्छ उदास बनेर !!

शीतल निश्चलका कविताहरु

देश हराएको सूचना

निरक्षर छोरो

सप्तरङ्गी दुनियाँ

सपना !