-Sital Nishchal

देश हराएको सूचना

Hollywood Khabar January 15,2023 Comments

-शीतल निश्चल, गोरखा, लप्सीबोट, जनवरी १६, २०२३

 

बाह्रै मास रूखका डालीहरूमा

पैसा फल्ने

शक्तिशाली उर्वर माटो

कुन देशको रहेछ खै कुन्नि?

देशभरका लाठे युवाहरु

धन कमाउन

परदेश जानुपर्छ भन्ने हल्ला

गाउँभरि सुनिन्छ !!

 

कतै घैँटोमा घाम लाग्छ कि भनेर

घैँटोमा घाम थाप्न हिँडेका

कुमाले दाइ

दिनभर घामका किरणहरूलाई

पासोमा पार्न

घैँटाहरू जम्मा गरिरहेका छन्

खुल्ला मैदानमा

सायद

सूर्य ग्रह पनि

कुमालेको चक्रजस्तै

फनफनी घुमिरहने भएर होला

आजसम्म

घैँटोमा घाम लागेको छैन

भन्ने हल्ला

गाँउभरि फैलिएको छ !!

 

उता

सर्वोच्च अदालतमा

देशको कानुन बनाउने न्यायाधीश

आफैले न्याय नपाएपछि

न्याय पाऊँ सरकार !

भनेको सुन्दा

यो राज्यको हरेक कुनाकुनामा

सडक पेटीमा सुत्ने सडकछाप,

बलात्कारपछि ज्यान गुमाएका

बालिका र महिलाहरू,

मुक्त हलिया र किसानहरूले

कहिले न्याय पाउने ?

यो हल्ला पनि

देशभर फैलिएको छ !!

 

कानुन भएर पनि कानुन नभए जस्तो

आलिसान महलबाट हात हल्लाउनेहरूले

कृषि प्रधान मेरो देश !

कसरी भन्न सके होलान् ?

न यहाँ कृषि औजारहरू पाइन्छ

न यहाँ रगत पसिनाको मूल्य पाइन्छ

राज्यबाट अर्थतन्त्रको गह्रौँ भारी बोकेर

खाडीको तातो मरूभूमिमा

धन कमाउन हिँडेको दाइ

काठको बाकसमा

आफ्नै घर फर्कन्छ

मृत बनेर !!

 

परदेशीले धन कमायो कि कमाएन ?

कुमाले दाइको घैँटोमा घाम लाग्यो कि लागेन ?

न्यायाधीशले न्याय पाए कि पाएनन् ?

जनताले सोचेजस्तो कानुन बन्यो कि बनेन ?

अझ सुन्न बाँकी छ

अझ पढ्न बाँकी छ

देश हराएको सूचना !!

शीतल निश्चलका कविताहरु

निरक्षर छोरो

सप्तरङ्गी दुनियाँ

सपना !