-शीतल निश्चल, गोरखा, लप्सीबोट, फेब्रवरी २७,२०२३
मलाई भरोसा लाग्दैन
मेरो शिरमा कागले बिस्ट्याएको छ
मेरो आँखा हिजोआज फरक ढङ्गले
फर्फराएको छ
म जता फर्कन्छु
उतैतिर अग्लाअग्ला पहाडहरू खडा हुन्छन्
म अन्यायमा परेको छु
या दशा लागेको छ
आङ्ग जुर्मुराउँछ
धर्ती फाटेर आउँछ
म माटो खोज्छु
पत्थर ठोकिन आउँछ
शरीर थला परेको छ
मुटु तागत बोकेर
गर्धन उठाउन खोज्छ
तर म उठ्न सकेको छैन
आफ्नै भाग्य र कर्मले
थिचोमिचो पारेर !!
साहु आँगनमा बसेर
आउने जाने मूलबाटो ढुक्छ
छोराछोरी रित्तो कसौँडीमा पानी हालेर
अगेनो ढुक्छन्
म यतिबेला बाछिटा जस्तै तर्किएको छु
कुन दिन दर्कने पानी आउँछ
ठूलो भेलबाढीमा मिसाउँछ
पत्तो छैन !!
श्रीमतीले दुख गरेर बटुलेको कनिकाले हो
आजसम्म मेरो सास अडिएको
लालाबालाको भोको पेट भरिएको
अगेनामा कहिलेकाहीँ आगो बलेको
नत्र
यो जिन्दगी, जिन्दगी हुँदैनथ्यो
एउटै रथको दुई पाङ्ग्राको भरोसा
कि दुखमा थाहा हुने रहेछ
कि सुखमा थाहा हुने रहेछ
नत्र कहिल्यै बुझेको थिइनँ
सक्षम छोरीहरूको कथा !!
म सावाँ जुटाउन हलो जोत्छु
उनि ब्याज बुझाउन डोको बोक्छिन्
अहिले हामी साहुको कमैया हौँ
छोराछोरी भरोसा हुन्
केही नहुनु भनेको ठूलो सङ्घर्ष गर्नु रहेछ
बग्गीमा नउठ्नेगरि लगामले अचेटिएको घोडाजस्तै
जिन्दगी अचेटिनुरहेछ
कागती भए रसाउँथ्यो
पत्थर भए चोइटिन्थ्यो
माटाको ढिस्को भए भत्किन्थ्यो
तर यो मन
भत्किन सकेको छैन
चोईटिन सकेको छैन
किनकि
नयाँ युग हेरेर
बनाउँनुछ बच्चाको भविष्य !!
शीतल निश्चलका कविताहरु
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु