-Sital Nishchal

विक्षिप्तता

Hollywood Khabar February 11,2023 Comments

-शीतल निश्चल, गोरखा, लप्सीबोट, फेब्रवरी १२,२०२३

 

बाको निधारमा

के लेखिएको थियो खै कुन्नि?

शान्तिपूर्वक

कहिल्यै बाँच्न पाउनुभएन

पोलिरहेको थियो

प्रचण्ड घामको किरणले

अचेटिरहेको थियो

आफ्नै जिन्दगीको थिचोमिचोले !!

 

एक फन्को पुग्ने

पुरानो धमिलो कछाड

शिरमाथि कहिल्यै नधोइएको

पुरानो ढाका टोपी

महिनाभरि नफालिएको

फुलेको दाह्री

अग्लो शरीर

धाँजा फाटेका कुर्कुच्चा

साच्चै एक समय

यसरी नै चलिरहेथ्यो

बाको जीवनशैली !!

 

मलाई खुब मन पर्थ्यो

बाले सुनाई रहने ती दन्त्यकथा

गुन्गुनाइरहनुहुन्थ्यो

रामायण महाभारत र कृष्ण चरित्रका

भजन कीर्तन !!

 

माडीको ज्वानो बोकेर

मेरो बा घर फर्किँदा

खोलाले बगाएछ एउटा जुत्ता

हातमा अर्को जुत्ता बोकेर

खाली खुट्टा घर फदा

खाली पैतालामा लागेको चोट

निकै अविस्मरणीय थियो

मेरो बाको लागि

सुनाइहनुहुन्थ्यो

दुख-सुखका कुरा !!

 

गाउँभरि माडीको ज्वानोसँग

कोदो, मकै र आलु साटासाट गरेर

बेलुकीपख घर फर्किदा

मुसुक्क मुस्कुराउनुहुन्थ्यो मेरो बा

भन्नुहुन्थ्यो

म बाँचुन्जेल भोकले मर्दैनन्

मेरा सन्तति !!

 

हिमालको छेवैमा अनकन्टार ठाउँ

हिमालको सौन्दर्यभित्र

लुकेको घना बस्ती

घामका किरणहरू छरिएर आउँथ्यो

सुटुक्क फर्केर जान्थ्यो

त्यही बस्तीको कुनेटोमा

एक्लो सानो घर !!

 

मेरो बाले यही बस्तीमा

आफ्नो अधुरो सपना र उजाड जिन्दगी

त्यागेर जानुभयो

एउटा सुनौलो सुन्दर संसारमा

आमालाई बिधवा

हामीलाई टुहुरो पारेर !!

 

म सानो चन्चले स्वभावको

मनमा थोरै मौनता पोखेर

सोधेँ आमालाई

आमा!

हाम्रो घरमा किन चाडपर्व आउदैँन?

अमिलो कुडिए जस्तै कुडियो

आमाको मन

गहभरि आँसु पार्दै भन्नुभयो

न हाम्रो कुनै आफन्त छन्

न हामी कसैको आफन्त हौँ

त्यसैले हाम्रो घरमा

कुनै आफन्त फर्केर आउँदैनन् बाबु !!

 

शब्दविहीन भए मेरो ओठ

जिन्दगीभर पाइन

आमालाई सोध्ने कुनै शब्द

आफै औँसीको रात जस्तो

अन्धकार भएँ

अब जिन्दगीभर उज्यालो आउनेछैन

मेरो आँगनीमा !!

 

न प्रचण्ड घाम आउँछ

न जुनेली रात !!!

शीतल निश्चलका कविताहरु

किनार र आमा

पवित्र तुलसी र रुद्राक्ष

देश हराएको सूचना

निरक्षर छोरो

सप्तरङ्गी दुनियाँ

सपना !