-शीतल निश्चल, गोरखा, लप्सीबोट, अप्रिल ६, २०२३
बृक्ष नरोपे फल फल्दैन
हाँगा नछाँटे राम्रो पात पलाउँदैन
ठूलो बृक्षबीच हुर्किएको एउटा बिरुवा
टुप्पोमा पुगेर हाँगा हाल्न
जमिनबाट तीव्र आकाशिँदै छ
अझ उचाइ लिन सकेको छैन
अवरोध - बाटोमा खडा भइदिन्छ
अवरोध - चट्टानमा भइदिन्छ
अवरोध - ठूलो बृक्षको दवाव भइदिन्छ
टाउको उठाउन सकेको छैन
टाउको घुमाउन सकेको छैन
खुल्ला आकाशमा
पखेटा फैलाई वेग मार्न खोज्छ
हावा निदाएको मौका छोप्छ
तर उडान लिन सकेको छैन
उसको पखेटा भाँचिएका छन्
ऊ पिँजडामा थुनिएको छ !!
दुष्टहरूको भिडभाडमा च्यापिएर
निस्सासिएर सास फेरेको छ
स्वतन्त्रताभित्र मौनता खोज्छ
कुण्ठित बनेर
दुष्टको पराजय कहिल्यै हुँदैन
कनिष्ठको विजय कहिल्यै हुँदैन
सम्बन्धमा थोरै फाटो आएको छ
पुराना बृक्षहरू एक ढिक्का छन्
मौनताको खिल्ली उडाइरहेछन्
खोक्रो र थोत्रो आडम्बर बोकेर
न उनीहरू हुर्कन सक्छन्
न उनीहरू मोटाउन सक्छन्
न उनीहरूको राम्रो गुणगान सुनिन्छ
उनीहरूको मस्तिष्कमा खोक्रोपन छिरेको छ
उनीहरूको करङ
एकाएक भाँचिएका छन्
ठूलै दम्भ काँधमा बोके पनि
उनीहरूलाई बुढ्यौली लागेको छ
मर्न सक्छन् कुनै दिन
कुहिन सक्छन् अस्थिपन्जर
ठाउँ ओगटेर सत्ता हातमा लिनुभन्दा
ठाउँ छोड्नु उपयुक्त देखिन्छ !!
उसलाई संरक्षण गर्नेहरू उस्तै छन्
आफूभन्दा कनिष्ठको जरो उखेल्ने
टाउको उठाउन नदिने
आफै सर्वेसर्वा ठान्ने
देशको राजा जस्तो
डमरुलाई स्यालको फ्याउरो देख्नेहरू
कति समय धरातलमा टेक्ने रहेछन्
केही समय हेर्न बाँकी छ
बाँकी छ अझै हेर्न
कनिष्ठको धीरता !!
***********
शीतल निश्चलका कविताहरु
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु