-Suchana Timalsina

पुतलीको नाच

Hollywood Khabar May 29,2022 Comments

सुचना तिमल्सिना, ललितपुर मे २९, २०२२

यहाँ गुरुत्वबल कर्ममा तल्लिन छ। यद्यपी गुरुत्वबल सबैमा लाग्छ भन्ने छैन। पुतली परिवर्तन भइरहन्छे। पुतली विचार बन्छे। कहिले किरा पुतलीमा प्रस्फुटन हुन्छे। कहिले पुतली नाम गरेको मानिस बन्छे। कहिले परिचय विहिन मानिस। पुतली स्वरुप बदल्छे। ऊ जेसुकै हुन सक्छे। पुतली कहिले दर्शक बन्छे। पुतली पात्र बनेर खेल खेल्छे। पुतली कर्म बन्छे। पुतली कर्मभित्र खेल्छे। यहाँ पुतलीको नाच यत्रत्यत्र सबैतिर छरिएको छ।

खोलाको तिर रङ्गिबिरङ्गी पुतलीहरु नाचमा लीन छन्। दर्शक पुतली हेरेर रमाउछे। पात्रता जन्माउछे। म पुतली मन पराउछु।एक विचार प्रस्फुटन भएर सकिन्छ। विचार देखेर अर्को विचार जन्मिन्छ। म पनि त मन पराउछु। विचार म भन्ने दुइ प्राणी जन्माउछ।विश्वास उनीहरु फरक हुन् भन्ने भ्रममा रमाउछ। उनीहरु खिचिन्छिन्, तानिन्नछन्। बेला बेला पोखिन्छन्। बेला बेला अस्तित्व हराउछन्। अनि फेरी म फरक भन्ने विचार देखिन्छ। फरक भनेर हिड्छन्। फरक पालेर कर्म गर्छन् । मानिस विचारलाई किन विश्वास गर्छ ?

ऊ अस्तायो वा झुल्कियो वा हरायो !

यद्यपि उसको नाम परिचय र अस्तित्व छैन। ऊ आयो र पुतलीको नाम, रङ्गमा मिसियो । किनकी पुतलीले मात्र आफूलाई देखी। ऊ केही भन्दैन । मौनतामा बस्छ। ऊ कोही केटा वा पुरुष वा महिला परिचय बोकेको विचार होइन । न कि ऊ महिलालाई सहयोग गर्छु भन्ने अभिमान हो। न कि ऊ केही शब्द भरिएको कहानी हो। ऊ मात्र परेको बेलामा सहयोग बन्छ। सकिन्छ। हराउछ। ऊ जो कोहीमा छ। ऊ जो कोहीमा प्रकट हुन्छ । पुतली त्यतिबेला अरु देख्छे। आफू भएर हेर्छे। कृतज्ञ बन्छे । कृतज्ञ बन्नुपर्छ भन्छे । पुतली नाम पुकार्छे । परिचय जोडेर पटक पटक सहयोगलाई, सादरलाई रङ्ग बनाउछे। अनि पुतलीको नजरमा सहयोग विभाजित देखिन्छ । सहयोग असहयोगमा विभाजन हुन्छ । उसको सिङ्गो रुप पुतलीको दर्शनमा फेरबदल पर्छ ।

एकान्त

पुतली एकान्तदेखि भाग्छे। भीडमा तानिन्छे । भीडबाट भागेर एकान्त खोज्छे । खिचातानीमा जीवन काट्छे । शौर्यता पोखिन्छ । रापको कला चिसिन्छ । बादलहरु यत्रत्यत्र छरिन्छन् । हावाका झोक्का चक्कर मार्छन् । ध्यान एकातर्फी भएर मोडिन्छ। असमानमा शक्तिको प्रसार हुन्छ । समानता के हो ? एकान्तमा पुतली प्रश्न गर्छे । एकान्त होहल्लामा परिणत बन्छ । पुतली प्रश्न भुल्छे । पुतली नाचमा तल्लिन बन्छे । सिनेमा हराउछे । कहानीको जञ्जालमा पस्छे। पुतली आफूले देखेको कहानी भन्छे । कहानीलाई आफू मान्छे । फेरी सुनाउछे । अनि पुतली वास्तविक पुतली भन्ने विश्वास गर्न थाल्छे ।

आफ्नो रङ्गको बयान गर्दै हिड्छे । रङ्ग कसरी देखापर्छ ? काँचको प्रयोगशाला सम्झन्छे । वास्तविकता भुल्छे । सेतो रङ्गबाट विभाजित इन्दे्रणी रङ्ग फेरी आफ्नो यथार्थ फर्कन्छ। पुतली भ्रममा बाँधिएर त्यता कतै भुल्छे । एउटा रङ्ग समातेर आफ्नो बयान गरिरहन्छे । दर्शक कहिले कुन कहिले कुन रङ्ग देखिरहन्छ । त्यतिबेला एकान्त फेरी विश्वास तोड्न आउछ । पुतलीलाई उसको रङ्ग चिनाउन आउछ ।

राप तथा प्रकाश

पुतली प्रकाश तर्फ मोडिन्छे । पुतली आगो तर्फ मोडिन्छे । आफैँलाई देख्छे । आफ्नो रुप देख्छे । कहिले रुपभित्र हराउछे । कहिले आफैलाई हेर्छे । आफूले बनाएको दुख । आफूले मानेको डर । आफूले भनेको आफू । परिवर्तन भइरहने विचार । आफूलाई जोगाउन खोज्ने विचार । अरुलाई सहमतका लागी राहत माग्ने विचार । धेरै हो भनेपछि आफू पनि पत्याउने विचार । त्यसैले पुतली प्रश्न गर्छे । परिवर्तन भइरहने को हो ? हेर्ने को हो ? देखेको भन्ने को हो ? यदि सब प्रश्न गर्ने पनि विचार भए, परिवर्तन हुने पनि विचार भए, हेरेको भन्ने पनि विचार भए, देखेको भन्ने पनि विचार भए पुतली कहाँ र कुन धरातलमा छे ? पुतली को हो ?

नाच

नाचको सिकाइमा नाचको कला सकिन्छ । एकोहोरो बानी देखापर्छ । हातको तौलतरिका, जीउको छनक देखिएर भावना अतृप्तता जनाउछ । असन्तोष पोखिन्छ । जो कोही पोख्न सक्छ। जो केही हेर्न सक्छ । देखेको भुलेर असन्तोषलाई आफ्नो ठान्छ। वा अरुको मान्छ । पुतली खोलाको तीर पखेटा फिजाएर नाच्छे । भुल्छे । तालबिना छनकबिना घुम्छे । चल्छे । खोलाको मन्द आवाजमा पुतली चुलबुल गरेर जीवन जिउछे।

आफूलाई भुल्छे पुतली। परिचय गुमाउछे। देख्ने दर्शन राधा भनेर अड्कल काट्छ। दर्शक नै परिचय राखेर बोलाउछ। पुतली जान्दिन। पुतली परिचय राखुन्जेल परिचयभित्र रहन्छे। परिचय सकिएपछि सकिन्छे ।

सूचनाका अरु लेखहरु

फूल फुल्न पात झर्नुपर्दो रहेछ लालुपाते फूल-१

के गर्ने तीज मनाउने ? कहिल्यै दुविधामा थिइन तर यो पालामा परेँ

घाउ बोल्छ मान्छे बोल्दैन, घाउ पीँडा हुँदै आगो बन्छ

मन पराउनेहरु मन पराउन नपराउनेहरु नपराउन अड्केका, गन्तव्य एउटै बाटो नमिलेर विचारहरु विचारमग्न

भ्यालेण्टाइन डे बिशेष: हेल्लो देअर

बल्दा बल्दा थकित राम्रो ऊ नराम्रो बनेर पछारिन्छ गल्दा गल्दा राम्री म नराम्री बनेर थच्चारिन्छु

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ

उपद्रो मन

अर्कोको पछि लाग्दा अर्काकै घर पुगिन्छ

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ