-फूल फुल्न पात झर्नुपर्दो रहेछ, लालुपाते फूल

फूल फुल्न पात झर्नुपर्दो रहेछ लालुपाते फूल

Hollywood Khabar December 04,2021 Comments

सूचना तिमल्सिना, डिसेम्बर ५, २०२१

चिसोको सिरेटाहरु यताउता जाँदैछन्। प्रकाश लालुपातेको फूलको शीत प्रष्ट देखाउदैछ। एक भुल्का विचार प्रश्न राख्छ लालुपाते फूलसँग-जाडो महिना फुल्न के गर्नु पर्छ? लालुपाते फूल आफ्ना पातहरु हल्लाएर मौन बस्छ। ध्यान लालुपाते फुलसँगै अन्य वातावरण नियाल्छ। खाली बस्छ।खाली बस्न प्रयत्न गर्छ।प्रकाश नियार्छ। प्रकाश झिल्काहरु बनेर ओहोरदोहोर गरिरहन्छन्। चराको चिरबिर आवाज, मानिसहरुको आवाज, प्रकाश, रुख अनि शान्तपन सबै एकै ठाउमा छन् | विचार खुरुक्क ओर्लन्छ प्रश्न बोकेर – यहाँ त शान्तपनको मात्र बास हुनुपर्ने होइन र ? प्रश्न राख्नासाथ देख्छ हल्ला गर्ने आफैँ हो भनेर |

ध्यान एकहोरो लालुपाते हेरिरहन्छ | विचार कहिले रातो रङ हेर्छ | कहिले पहेलो रंग हेर्छ | कहिले शान्त भएर बस्नु पर्छ भन्छ | कहिले शरीर हेर्छ | कहिले धड्कनसंग धड्कीएको आफू हेर्छ | कहिले रक्तकोशिकाबाट आएको हलचल सुन्छ | कहिले ध्यानलाई हेर्छ | विचार आफै मक्ख पर्छ | आफै अभिव्यक्त गर्छ | म त ध्यानी भएछु | ध्यानी भन्नासाथ चाल पाउछ | विचार पलाउदा उ आफू ध्यानी बन्न सक्दैन | त्यसैले फेरी भन्छ | अब शान्त बन्छु | उफ शान्त बन्छु भन्दा पनि ध्यानी बन्न सक्दैन | खिस्रिक्क परेर फूललाई सोध्छ – ध्यानी कसरी बन्ने ? प्रश्न राख्दा पनि देख्छ – बाधक आफैँ हो भनेर |

आकाश वर वर हुँदै आँखा सामुन्ने आउछ | हावा लहरी हालेर हिड्छ | घरको छानो टल्कन्छ | चराहरु आकाशमा नाच्छन | ओरिदोरी गर्छन् | विचार फेरी निस्कन्छ | कति राम्रो ! अँ राम्रो छ | यस्तै राम्रो पहिले पनि अनुभव भएको थियो | हावाको स्पन्दन हुँदा | झरीमा रुझदा | विचार आफ्नो लहरा तान्दै जान्छ | फेरी देख्छ | आफु नै ध्यानको बाधक हो |

लालुपातेको बोटमा चराहरु बस्छन् | पुतली घुम्छ | काग बस्छ | फूलका हाँगा हल्ल्लिदै कागलाई थामिदिन्छ | काग उड्छ | हाँगाहरु विस्तार शान्त बन्छन | हावाको झोकासंग लुकामारी खेल्छन | विचार भन्छ – फूल र मानिसबीच के सम्बन्ध हुन्छ ? विचार फेरी विचरणमा लाग्छ, लौ हेरौ न त सम्बन्ध के हुन सक्छ ? अलमलमा परिरहेको एक विचारलाई देखेर अर्को विचार जन्मन्छ | जे सम्बन्ध भएपनि विचारले पत्तो लाउन सक्दैन | विचार आफैँसंग गलवधि गर्छ | किन लाउन सक्दिन ? ऊ छटपटीन्छ | फूललाई सोध्छ – हाम्रो सम्बन्ध के हो ? पुनः अर्को विचार आएर सोध्छ ? हाम्रो सम्बन्ध भन्न के मानिस र विचार एकै हो ?

विचारले यो प्रश्न कहिल्यै गरेन | ऊ आफैं चकित पर्छ | ध्यान भनेको विचार होइन | उसले धेरै कठिन गरेर यो विषय मनन गरिरहेछ | लालुपातेको बोटबाट पात झर्दा प्रत्येक पातहरुको हाउभाउ हेरेर आँशु निकाल्दै भनेको थियो | फूल फुल्न पात झर्नु पर्दो रहेछ | पात भनेको विचार हो | उसले गम खाएको थियो | तर उसले फूल के हो बुझ्न सकेको छैन | के विचार मानिस होइन त ? मानिस को हो ? फूल को हो ? के मानिस र फूल फरक भन्ने विचारले जन्माएको हो ? त्यसोभए मानिस र फूल एक हो भन्ने पनि विचारले जन्माएको हो ?

विचार अलमलिन्छ | सक्छु कि खोज्न भनेर तन्कन्छ | तन्कदा आफूलाई विगतमा देख्छ | विगत उत्तर होइन | ऊ शान्त बन्छ | शुन्यता छाउछ | ऊ कतै जर्मराएर हेर्न खोज्छ | प्रत्येक जर्मराहट उठानमा उत्तर होइन आफैं देख्छ |

क्रमश:

सूचनाका अरु लेखहरु

के गर्ने तीज मनाउने ? कहिल्यै दुविधामा थिइन तर यो पालामा परेँ

घाउ बोल्छ मान्छे बोल्दैन, घाउ पीँडा हुँदै आगो बन्छ

मन पराउनेहरु मन पराउन नपराउनेहरु नपराउन अड्केका, गन्तव्य एउटै बाटो नमिलेर विचारहरु विचारमग्न

भ्यालेण्टाइन डे बिशेष: हेल्लो देअर

बल्दा बल्दा थकित राम्रो ऊ नराम्रो बनेर पछारिन्छ गल्दा गल्दा राम्री म नराम्री बनेर थच्चारिन्छु

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ

उपद्रो मन

कहिलेकाहीं म लेख्दा लेख्दै अड्कन्छु, अर्कोको पछि लाग्दा अर्काकै घर पुगिन्छ

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ