Hollywoodkhabar advertisement

उपद्रो मन

-Suchana Timalsina
0
shares

सुचना तिमल्सिना, ललतिपुर/०१/०३/२१

संयमित बनेर भित्र भित्र बसेको बाहिर आउन नपाएको मन, जेलमा बसेको जस्तै, कतै कोठामा थुनिएर रहेको जस्तै, बाहिर वातावरण बानी नभएको, घामपानीको मतलब नरहेको, बादल झरी नसहेको मन, जब बाहिर आउन खोज्छ, डराउँछ, हिड्दैन, सुरक्षा खोज्छ। जहिले डराउनु पर्दैन भन्ने बुझ्छ, विस्तारै बुर्कुसी मार्छ। खोलामा सिधै पस्नु हुँदैन सुनेको, जानेको, गुनेको कुरा हो। तर पसेर हेर्छ। वेगले बगाउँदा खोलालाई गाली गर्छ। कसैबाट सुझाब पाउछ, किनाराको छेउबाट सुस्त सुस्त सुरुवात गर न। बढ्ता जान्ने, ऊ ठान्छ, ऊ उक्सिन्छ विपरित धारमा।

खोलामा हेलिन्छ, बगाएर लैजान्छ, संयोगवश मात्र एक संयोगवश मानिसले भेट्टाउछन्, बचाउछन्, बचाएर फर्कन्छन। अब मन खोलाको चित्रण भर्छ। खोलालाई एक भयंकर स्थान नामकरण गर्छ। खोलादेखि डराउने बन्छ। वरिपरी पनि जादैन, अरुलाई पनि जान दिदैन, खोलाले बगाउछ मूर्खहरु जानु हुँदैन सिकाउछ। अरु खोला तर्न आउछ भन्छन, पौडी खेल्न आउछ भन्छन। ऊ सुन्दैन, ऊ त्यही सिकाउछ, जुन उसको जीवनमा घटेको छ।

अब मनलाई पानीभित्रको साहसिक यात्रा गर्न पुगेको छ, ऊ हिमालको आनन्द लिन चाहन्छ। हिड्न सिक्छ। हिड्ने बानी पार्नु पर्छ भन्छ। हिडाई नै मानिसको असली पहिचान भन्ने जान्छ। हिमाल पुग्ने सपना बोक्छ। बच्चा बेलादेखिको हिड्ने सपनालाई संकल्प मान्छ। अनि आफू हिमाल आरोही हुने सपना बाडछ। आरोहणका लागि पैसा चाहिन्छ बुझ्छ। उपाय निकाली भरिया बन्छ।

भरिया बन्दा बन्दा उसमा करुणा पलाउछ। मन कारुणिक बन्छ, कता कता आरोहण केहि होइन झैं लाग्छ, हिमाललाई के-के न ठानेको ! केहि होइन रहेछ, ऊ विचरण गर्छ, आफ्नो सपना बेकार ठान्छ।मिहेनत बेकार मान्छ, ऊ भाग्छ हिमाल आरोही सपनाबाट, र, ऊ पछ्याउछ समुन्द्र पुग्ने सपना।

समुन्द्रको रवाफ नै फरक, उल्लासमा नग्न, अर्ध नग्न मानिसहरुको जमात, न अरुको वास्ता न आफ्नै, ठ्याक्कै ठ्याक्कै उसले खोजेको खोजिरहेको ठाउँ यहि, कस्तो राम्रो ! कस्तो रमाइलो ! कति प्रफुल्लता। नीलो नीलो पानी, आनन्ददायक दृश्य मनमोहक। रमाउदा रमाउदै मन केहि नपुगेको भान पाउछ।आफूलाई एक्लो ठान्छ, खल्लो मान्छ, अरुलाई हेर्छ। सबका जोडी छन्, नभए साथी छन्। अब मन रमाउन नसक्ने भएको छ किनकी आफू एक्लो छु चाल पाएको छ। चाल नपाउन्जेल सब ठिक थियो, अब हरेक दृश्य बेठिक बन्छन।

मन साथी खोज्छ, साथी बनाउछ, साथीहरु चमक लाग्छन, भनेको मान्ने, विचारलाई साथ दिने, कहिले नमान्दा पनि फेरी मान्छ भन्ने आश हुने, नजिक ठान्छ। आफ्नो बनाउछ, जिम्मेवारी लिन तम्सिन्छ, कहिले विचारमा तैरिएर आफू भन्दा कता कता फरक भेट्छ। त्यतिबेला खत्तम मान्छ, फेरी गुण सम्झन्छ, बैगुणको पाठ आफैंलाई सिकाउछ, इमान्दार बन्न खोज्छ, यस्तै यस्तै चल्छ, चल्न दिन्छ।

के यतिले पुग्छ र ? पुग्दैन, ऊ साथी मात्र बनाएर सन्तुष्ट हुँदैन, उसलाई हरबखत साथ दिने कोहि चाहिएको छ। हरबखत कोहि साथ दिन्छ र ? वाहियात प्रश्न ! उसलाई लाग्छ, ऊ प्रेम गर्न चाहन्छ। प्रेम के हो सिक्न चाहन्छ, उसले प्रेम सिकेको थिएन र ? त्यो पनि वाहियात प्रश्न, ऊ कोही आफू उमेरको मानिस भेट्न चाहन्छ। एकदिन भेट्छ, भेटिएपछि ? पक्कै नयाँपन पायो, कसैले मतलब गर्दा, चासो गर्दा, मुख्य पात्र बनाउदा, सिकाउदा, तारिफ गर्दा पक्कै पनि ऊ राहत मान्छ, किन नमान्नु !

तर मन किन कोहि कसैलाई हरपल प्रेम गर्न सक्दैन ? किन हरपल श्रद्धा दिइरहन सक्दैन। त्यो ऊ बुझ्न सक्दैन, प्रेम सिक्छ।खासमा जवानी सिक्छ, जवानीको कौतुहलता सिक्छ, कौतुहलता मेट्छ, ऊ प्रेम सिकाउछ, प्रेम सन्तुष्टि र असुन्तुष्टि बीच छ। मनलाई अब प्रेम सम्बन्धि चासो लाग्न छोडेको छ। किनकी प्रेम सम्झौतामा छ। जति दियो त्यति पायो, होइन पाउदैन। आssssss गलावधि गर्न चाहदैन मन किनकी प्रत्येक स्वास्नी मानिसको मन लोग्ने मानिसको लागि समर्पित छ। प्रत्येक लोग्ने मानिसको मन स्वास्नी मानिसको लागि समर्पित छ। ऊ एक आदर्शवादी विचार फ्याँकेर शान्त बन्न चाहन्छ।

के त्यो पनि होइन ? ठिकै छ मन एक भन्दा बढी चाहन्छ। के त्यो पनि होइन ? ल त मन एक नै चाहन्छ। बाध्यतावश अर्कोमा पुग्छ, बाध्यता वाहना हो। नबुझेको हो र ! तर पनि मन बाध्यता शब्दमा रुची राख्छ। विवशता शब्दलाई प्रेम गर्छ, लाचारीपन भित्र्याउछ।आफ्नो अज्ञानतालाई ब्रह्माण्ड मान्छ।

मनलाई कता कता जीत गज्जब चिज लाग्न थालेको छ। ऊ प्रेममा पनि जीत खोज्छ। उसलाई बिल्कुल थाहा छ जीतसंग हार जोडिएको छ। हार पक्का आउछ, जीत र खुशीको सम्बन्ध क्षणिक छ। जीत अनि भावना दुवै क्षणिकतामा गुज्रन्छन्। जब भेट हुन्छन, एक अर्काको अनुबन्धित ठान्छन। तरपनि मन जीतको लागि पछि पर्छ। मन सफलताको पिछलग्गु बन्छ।

जित्दा जित्दा क्षणभरमा हार्ने मन, हार्दा हार्दा पलभरमा जित्ने मन अपुगताको पछि छ।नयाँ संसार बनाउन चाहन्छ। सुरक्षित ठाउँ पुग्न चाहन्छ, भरपर्दा मन खोज्न चाहन्छ।भरलाग्दो ठाउँ भेट्टाउन चाहन्छ। सुनेको, देखेको, चाल पाएको क्रिया प्रयोग गर्न रहर भर्छ। त्यसो त मन कसको पछि छ ? हर कोहि चिज, हर कोहि व्यक्ति, हर कोहि दृश्य, हर कोहि घटना गुमाउन तयार छ। फेरी संहाल्न तयार छ, वास्तवमा मनको गन्तव्य कहाँ हो ? मन कहाँ पुग्न चाहन्छ ?