-Suchana Timalsina

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ

Hollywood Khabar September 14,2020 Comments

सुचना तिमल्सिना/ललितपुर/९/१४/२०

संसारमा मन जति चलायमान केहि छैनहोला। रावणको पुष्प विमान पनि यो मनकै तरङ्गले नै बनाएका होलान।

कहिलेकाहीँ मलाइ कपाल छाडेर फोटो खिच्न मन लाग्छ। कहिलेकाही समातेर त कहिले पछाडी लगेर अनि कहिले फुक्काफालसंग। कहिले त अलि झोक चलेर आउँछ अनि पुरै चिन्डे बनाएर काटिदिउ झैँ लाग्छ। तर जे गरेपनि यहाँ कुनै नियम छैन।

अरु वास्ता गर्छन, गर्दैनन्, सोध्छन, सोध्दैननले थोरै मात्र स्थान पाउँछ। न यस्तो कपालको कुनै नियम नै छ। अथवा न मेरो नै कुनै कपाल संबन्धि नियम छ। तर पनि मेरो कपाल भनेर तोकेर राख्छु। कपाल काटे भनेर राख्छु।तर मलाइ थाहा छैन कसलाई देखाउन चाहन्छु। न मलाइ त्यसबाट आएको उत्तरले सन्तोष नै दिन्छ, न कि दिदैन। जवाफले सन्तोष नदिए पनि मेरो कुनै जीवन मरणको हारजित पनि हुँदैन।

हरेक साल कपाल लामो हुन्छ, हरेक साल छोटो हुन्छ, बढ्छ अनि जान्छ। जसरी नङ हुन्छ त्यसैगरी कपाल हुन्छ। न कैले म नङको वास्ता गर्छु न कपालको। होइन गर्थे तर अहिले काट्न थालेको छु। त्यसो त नङ र कपाल दुबैलाई के मतलब म के गर्छु भनेर। जसरी अरुको लागि म केहि होइन, मेरो लागि पनि उनीहरु केहि होइनन्। हुन त त्यो नहुन पनि सक्छ। मेरो लागि उनीहरु केहि हुन्, उनीहरुको लागी म केहि हुँ, फेरी प्रश्न पनि छ कि म किन केहि हुँ ? वास्तवमा त म केहि पनि होइन।

म एक प्राणी हुँ, स्वास लिन्छु, फाल्छु, भावना छन् अनि बग्छु। चौबिस घन्टाको अवधिभित्र वर्तमानमा कति हिड्छु होला ? कहिले भविष्यमा पुग्छु, कहिले विगतमा पुग्छु। जब म विगतमा पुग्छु उनीहरुप्रति रिस गर्छु, माया गर्छु, घृणा गर्छु, सन्तोष लिन्छु, असन्तोष पाल्छु। जब कि उनीहरु वर्तमानमा छन्, होउन। अजिवकै कुरा हुन्छ कहिले त म भविष्यमा पुगेर खोजेको कुरा लिन्छु। मेरो मर्जीले महाराजा, महारानी र सर्वदण्ड नायक देखि निरिह प्राणी पनि मै बन्छु। माया लिनु छ कि, शान्ति लिनु छ कि, जे मन लिन मन छ त्यही लिन्छु। अनि वर्तमान त्यो मेरो भविष्य र विगत हेरेर बिलाउछ।

त्यसैले म केहि पनि होइन। जसरी मेरो कपाल, मेरो नङ, मेरो भावना केहि पनि होइन। त्यसैले तिनीहरु केहि हुन किनकी तिनीहरु केहि पनि होइनन्। त्यसो त अब मेरो लागि यो लेख पनि विगत भयो। हुन सक्छ तपाइको लागि यो वर्तमान होला। सायद विगत हुदै होला।

आफ्नो विगत, वर्तमान र भविष्य कति राख्नुभयो ? कति फाल्नुभायो ? अरुको जीवन अरुको दिनचार्य किन लिने ? होइन किन नलिने ? ठिकै छ जे गर्नुहोस ? मान्नुहुन्छ भने फालिदिनुहोस। किनकी मैले यो फालेको भावना हो। अब म त्यो विगतमा छैन।