-Rita Devi Pradhan

हाम्रो चाहना

Hollywood Khabar February 13,2023 Comments

-रीतादेवी प्रधान-रुमाठ, फेब्रवरी १३, २०२३


हड्डी नभएको जिभ्रोलाई
वर्काइ फर्काइ गर्न कति सजिलो
सबले यसो भन्छन् रे
अमेरिकामा बस्नेलाई
काम केही छैन अमेरिकामा बस्नेहरुको
नेपालमा नेताहरुको कमजोरीको
मात्र बखान गर्छन् रे
नेपालमा यस्तो भयो त्यस्तो भयो
नेपाल देश बस्नलायक छैन रे
सडकभरि खाल्डा खुल्डी छन् रे
प्रदूषणले गरेर स्वास फेर्न गाहारो हरे
महंगीको पराकाष्ठा हरे
बलात्कारीको विगविगी हरे
जताततै भ्रष्टाचारीको सुनामी चल्छ रे
ठूला ठूला घरहरु बढेपछि त झन
बृद्धहरुको बिजोग भो रे
बस्ने ठाउँ नपाएर वृद्धाश्रम पुगे रे
क्लब र बारहरुको कति धेरै झिलिमिली
सुरा र सौन्दर्यको चरम विकास हरे
मठ र मन्दिरहरु झन झन दर्दनाक अवस्थामा पुगे
यस्तै यस्तै नराम्रा पक्षहरुको मात्र ध्वांग फुकेर हिंड्छन् ।

विदेश बसेर कुरा मात्र काट्ने होइन
सक्छौ भने आउ
बिग्रेको बनाउ
कति बनाउँछौ विदेशलाई
नेपाली हौ भने आफ्नो देश बनाउ
कमजोरीको मात्र बखानले केही हुन्न है
विदेशमा गएर घमण्ड गर्ने होइन
मोज गरेर बस्ने होइन ।
तर
अफशोच हामी अमेरिकावासीका लागि
हे हाम्रा नेपाली बन्धुहरु हो
हामीले कहिल्यै सपनामा पनि चिताउँदैनौ
हाम्रा देश नेपाल नराम्रो छ भनेर
नेपाल त स्वर्गभन्दा सुन्दर शान्त विशाल छ
हाम्रा लागि नेपाल
निकै प्यारो छ
साह्रै राम्रो छ
तैपनि हामी विदेशिएका छौं ।
नेताहरु गलत भएका कारण
हामी विदेशीएका हौं
सरकारमा गएपछि देशलाई भन्दा बढी
आफ्नालाई हेरे , जनतालाई छोडे
देशको हित भन्दा बढी
आफ्नै स्वार्थ हेरे
सात पुस्ताका लागि कमाउन लागे ।
यस्तै कारणले नै हो
नेपालीहरु विदेशिएका
आफ्नो घर छोडी
घरपरिवार र आफन्त त्यागी

हे नेपाली बन्धुहरु हो बुझ तिमीहरुले
कोही पनि आफू खुशी मोजमस्तीको लागि
विदेशिएका होइनन्
जन्मभूमि छोड्नु कति गाहारो छ
विदेशमा कोही पनि त्यसै कहाँ बसे
दुःख कष्ट सहेर , संघर्ष गरेर नै बाँचेका छन्

तिमीहरुलाई के थाहा ?
यहाँ हातमुख जोर्न कति हाड घोट्नपर्छ भनेर
कति उतार चढाव भोग्नुपर्छ
अवरोहण र आरोहणको लागि तालमेल मिलाउन
कति गाहारो छ
भन्ने हो भने यहाँ सबले सुरुमा बाबुको विहे देख्छन् ।

विवश छौं हामी विदेशमा बस्न
जिन्दगीलाई यसरी संधैभरि घोट्न
विदेश बसे पनि
मन संधै नेपालमा
स्वर्गभन्दा प्यारो देशलाई हामी
विपनामा मात्र होइन सपनामा पनि सम्झिरहन्छौं
यही हाम्रो कामना
सुन्दर शान्त नेपालको संधै चाहना ।

रीता देवी प्रधान-रुमाठका अरु कविताहरु

छ गजव संसार