-Santa Sapkota Khanal

त्यो मान्छे

Hollywood Khabar January 08,2022 Comments

-शान्ता सापकोटा खनाल, आरुघाट , गोरखा, जनवरी ९, २०२१

 

रातको चकमन्नतामा

मन कतै बहकिएको बेला

जीवनबाट रङ्ग हराएजस्तो

मलिन र खिन्न अनुहार लिएर

सडकपेटीमा भौँतारिइरहँदा

पारि क्षितिजमा आफ्नो अस्तित्व

गुमाइरहेको सूर्यजस्तो

जीवन कस्तो ! कस्तो !!

 

भुस्याहा कुकुरहरूको एकोहोरो भुकाइ

तिनीहरूकै साथमा

चिसो बतास

सायद यस दुनियाँलाई

उपहास गर्दै

प्रतिवादमा उत्रिएको

त्यो मान्छे-

आँसुको अर्थ नभेटेर

खिस्स हाँसिदिन्छ !!

 

फेरि

यताउता दृष्टि फ्याँकेर

नि: शब्द टोलाउँछ

मन सम्हाल्ने कोसिस गर्छ

शीतले भिजेको शिर सुम्सुम्याउँदै

रातको अन्तिम प्रहर बितेपछि

भोलि आउने त

आखिर दिनै त हो !

 

यही आशाले

त्यो मान्छे -

समय बिताउँदै

समय पर्खिरहेको छ !!