तस्बिर वेब

ठेकेदारको लापरबाहीले पाँच वर्षमा पनि बनेन विद्यालय भवन

Hollywood Khabar June 16,2019 Comments

२ असार,दैलेख।जिल्लाको गुराँस गाउँपालिका-८ को मुटुमा रहेको मालिका माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरिएको पाँच वर्ष पुग्यो अहिलेसम्म निर्माण पूरा भएको छैन। भवन समयमै नसकिँदा विद्यार्थीहरूलाई पानी नछेक्ने छानोमुनि पठनपाठन गराउनुपरेको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर बस्नेतले बताए।तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्नेगरी विद्यालय भवन निर्माणको काम २०७४ असार ३० गते सक्नेगरी  २०७१ साउन ५ गते सम्झौता भएको थियो।

निर्माणको जिम्मा खानी निर्माण सेवा बानेश्वर काठमाडौंले ठेक्का लिएको थियो।  ठेक्का लिएको कम्पनीले सहायक ठेकेदारका रूपमा दैलेखका ठेकेदार दीपककुमार शाहीलाई जिम्मा दिएको थियो। निर्माण कम्पनीको लापरबाहीकै कारण अहिलेसम्म भवन निर्माण अलपत्र परेको प्रधानाध्यापक बस्नेतको भनाइ छ।  १२ कोठे विद्यालय भवन निर्माणका लागि भारतीय दूतावासको तीन करोड ७८ लाख ३७ हजार ६३  रुपैयाँ आर्थिक सहयोगमा सम्झौताको भएको पनि प्रधाननध्यापक बस्नेत बताउँछन्। विद्यालयमा अहिलेसम्म ढलान मात्र पूरा भएको छ।विद्यालयका ४ सय विद्यार्थीहरूले जीर्ण भवनमै पठनपाठन गर्नुपर्ने बाध्यता छ।पक्की भवन बन्दै छ भनेपछि स्थानीय सरकारले समेत अहिले विद्यालयमा सहयोग गरेको छैन।