Hollywoodkhabar advertisement

लालटिनको उज्यालो:सरस्वती ज्ञवाली र मन्त्री ज्ञवालीको प्रेम कहानी सहितको आत्मकथा

1M

-Sabita Kanauje Neupane
0
shares

सविता कनौजे न्यौपाने/काठमाण्डौ/७/१/२०२०

शनिबार, चैत्र १० २०७४ मा नँया बानेश्वर स्थित अल्फा बिटा हलमा म पनि समावेश भएकी थिए। जहाँ लेखक सरस्वती ज्ञवालीले आफ्ना जीवनका अनेकन संघर्ष र अनुभवका अनगिन्ती पोका पन्तुराहरुले भरिएको आफ्नो आफैले लेखेको पुस्तक लालटीनको उज्यालोमा (आत्मकथा) लोकार्पण गरेकी थिइन्।

हलमा उपस्थित सबैको केन्द्र बिन्दु भएकी थिइन् उनि अर्थात् सरस्वती ज्ञवाली, जसलाइ मैले जहिले पनि एक गृहिणीका रुपमा मात्र चिनेकी थिए। लोकार्पणंमा भएका कुराकानी अनि पुस्तकमा भरिएको उनको हस्ताक्षर बोकेर म घर फर्के। एमबिएको अन्तिम परिक्षाको तयारी हुनाले त्यो उर्जाले भरिएको किताब केवल मेरो किताब र्याकमा सजिएर बस्यो। नढाटिकन भन्दा मैले त्यो किताब त्यस पछि पढ्न चाहेर पनि पढ्न सकिन, कारण आफ्नै पढाइका किताबका लामो सुची अनि कामको चटारो पनि।

अहिले २०७६ साल चैत्र ११ देखि कोभीड-१९ का कारण लकडाउन भएपश्चात् घरमा बढी फुर्सदिलो भएकी छु। महामारीको बेलामा अन्य घरायसी कामकाजको निरन्तरता सहित आफ्ना पाठ्यक्रम किताबका अलवा अरु ज्ञानगुनका किताबहरु पढ्ने क्रममा यदुनाथ खनाल: जिवनी र विचार श्री मद्भागवत गिता, जोन उडको माइक्रो सफ्टदेखि बाहुनडाँडासम्म, लगायत एक दर्जन बढी पुस्तक पढे। सबैका आफ्ना आफ्ना बिशेषताहरु छन्। यी पुस्तकहरु मैले केहि आफ्नै त केहि सासु आमा अनि केहि श्रीमानका सिफारिसहरुका थिए। यसै क्रममा फेरी मेरा आँखा टक्क अडिए लालटीनको उज्यालोमा जसले मलाइ पुन:एक पटक उनै एक साहसी नारी सरस्वती ज्ञवालीको आत्मविश्वासको अनुभुतिको रसस्वादन गर्न प्रेरित गर्यो।

२९ बिषय सुचिमा लाल्टिन बाल्दै अन्तमा तस्विरमा आफ्ना जिवनयात्राले २४४ पन्नामा यो आत्मकथा सुसज्जित छ। मलाइ यो आत्मकथाले तान्नुको कारण एक महिलाले जिवनमा गर्नु परेको संघर्ष र त्यागनै हो। चाहे त्यो आगामी पुस्ताले आफ्नै दैलोमै शिक्षाको उज्यालो लिन पाउनका निम्ति होस् (पृष्ठ ६) या जसरी पनि पढेर केहि गरेर समाजमा आफ्नो स्थान बनाउने हुटहुटिलेनै पढ्नका लागि भागेर तानसेन पग्नु परेको होस्।

उनी अगाडी भन्छिन्, पढाई संगसंगै प्रगतिशिल किताब पढ्न थालेपछि कोर्सका किताबहरु त नुन नभएको तरकारी जस्तो लाग्न थालेको अनुभुतिले अहिलेका युवालाई कता कता राजनितिमा आकर्सित गर्न खोज्ने तर सिद्दान्त र व्यवहारमा त्यस बेला जस्तै अहिले पनि राजनिति केवल फोहोरी खेल नै हो कि भन्ने भान हुने ठाँऊ दिएको छ (पृष्ठ २४)। शशि अर्थात् माननीय नेता प्रदिप ज्ञवालीसँग भुमिगत अवस्थामा भएको पहिलो भेटमा उनको सरलता, इमानदारिता र बौद्दिक व्यत्तित्वले भीत्रि सौन्दर्यको पहिचान गरेर उनले, बिहे भएनि नभएपनि शशिलाई अफ्ठ्यारो नपरोस्, कहिल्यै बिरामि नहोस् भन्ने सद्भाव हुनुले एउटा असल प्रेमको उजाजर गरेको भान हुन्छ। जुन अहिलेको पुस्तालाई राम्रो पाठ हुन सक्छ (पृष्ठ ३२)।

ताली सहित हात मिलाएर माला र टिका आदानप्रदानमा सम्पन्न विवाह फजुल खर्च विरोधीको प्रतिक भएको, जन्मघर र कर्मघरबिचको अन्योलता बिच शिल्पकलामा ढाका बुन्ने इलमले जिन्दगी चलेको अनि सुहागरात साथै हनिमुन मात्र केवल श्रीमानले महिना दिनमा पठाएका चिठिमा सिमित हुदाँका अचम्मित पार्ने प्रेरणादायी यथार्थ शब्दहरुले प्रेम,त्याग र समर्पणको बेजोड चित्रण पाइन्छ, उनको आत्मकथामा (पृष्ठ ३६)।

जति चलायो हसिया धारिलो भए जस्तै मान्छे पनि अनुभव, शीक्षा, सङ्गठन निर्माण, आन्दोलन लगायतका आरोह-अवरोहले र समाज भने शिक्षा अनि चेतनाले परिपक्व हुदै जाने कुरा उदाहरण सहित पुस्तकका पानाहरु सुसज्जित छन्।

समाजमा जुका जस्तै छुचुन्दे प्रवृतिका मान्छे (पृष्ठ ६१) देखि डटेर फलामझै खारिनु पर्छ भन्ने उनको प्रेरणा अहिले पनि सान्दर्भीक लाग्छ। श्रीमान आकाश श्रीमती धर्ति जस्तैको भेट महिनौ सम्म नहुदाँ, यौवनका चहना (पृष्ठ १२६) अनि एक अर्काको साथको कमीको सन्दर्भका क्रममा आकाश र धर्ति जोडिने बिन्दुको सुमधुर कल्पनामा आफ्नो सन्तानको नाम जुराएको सन्दर्भले निकै रोमान्चक बनाउँछ (पृष्ठ ७२)। तर क्षितिज बनेर आएकी पहिलो छोरीनै मष्तिस्क पक्षघातको शिकार भएपछिका तनाव अनि स्याहार सुसारले आश मारेकी छोरी हाल एकान्तको साथी भएको कुराले आमाको अपार माया एवं त्याग झल्किन्छ।

लाल्टिन बालेर आफ्नो दु:खको तलब र स्कुल बनाउन गरेको मौन विद्रोह होस् या लैङ्गिक समानताका लागि खेप्नु परेको मादलेहरुको (पृष्ठ १०३) बिल्लालाई, एक कर्मठ छोरी, बुज्जकी श्रीमती अनि असल बुहारी भएर छोरा सरह कर्म क्षेत्रमा नेतृत्व गर्न गरेको संघर्ष निकै प्रेरणादायक छन्। विवाहको एक मात्र चिनो सिटिजन घडिले देखाएको समय त्यो रातको एघारको उकुसमुकुसदेखि पौने बार्हको आफ्नो सुझबुझपुर्ण समजदारीताको वर्णनले जिवनको जिम्मेवारीको बोध गराउदँछ (पृष्ठ ११९)। महिलाहरुलाई सिलाइ कटाई जस्ता क्षमता विकासका कार्यक्रम अति सरल र व्यावाहारिक तरिकाले सिकाउन सक्ने कलाले उनको काम प्रतिको लगाव र दक्षता झल्किन्छ।

एकदम मिल्ने साथी पनि किन व्यवहार बदलिन्छ आर्थिक कारण होकि अरु केहि भनि सोद्धा आफै कृष्ण र सुदामाको उदाहरण दिदै एस्तो हुन नहुने बताउँछिन्। पार्टि एउटै हुदाँ पनि सम्बन्ध चिसिनुमा वर्ग वा विचार के फेरिन्छ? भनेर हामी पाठक समक्ष यक्ष प्रश्न छोडिदिएकी छिन्।(पृष्ठ १३८)

बाह्र बर्षमा राजनिति पुर्वाग्रहका कारण एघार जागिर छोडेर परिवारको रेखदेखमा समर्पित उनि यसलाई आफ्ना श्रीमानको सफलतासँग जोड्न पाउदा गर्व महशुस गर्छीन्। आत्मसंतुष्टिका साथ आरामको सास फेर्दै एक अर्का प्रतिको समर्पणमा मिठो आभासको अनुभुति दर्शाउँछिन्। (पृष्ठ १४४) साङ्घातिक आक्रमणमा परेका आफ्ना जिवनसाथीको दुखद परिस्थितिमा घायल मनलाई कठोरताका साथ समाल्दै दु:खंमा नआत्तिने र सुखमा नमात्तिने चरित्र कुशलताका साथ निर्वाह गर्छिन्।

प्रत्येक सफल पुरुषको पछाडि एक महिला हुन्छिन् र ति महिला उसकी पत्नी हुन्छिन् भन्ने भनाई यो आत्मकथा पढ्दै गर्दा सरस्वतिमा भएको लगनशीलता, सहनशीलता, इमानदारिता, धैर्य एवं आत्मविश्वासबाट प्रष्ट हुन्छ। सानो सानो कुरा पनि पुर्ति गर्न नसकिने हाम्रो अवस्था छ तर पनि हामी सन्तोषले बाँचेकै छौं भन्दै खोक्रो आडम्बर रहित सरल जीवन गुजारेकोमा उनि गर्व गर्छिन् (पृष्ठ १७५)। सासु आमा र बुहारीको सम्बन्धका बारेमा लेखिएका उनका शब्दहरुले उनको सासुआमा प्रतिको प्रेमभावना झल्किन्छ जसमा उनि आफैलाई भाग्यमानीको संज्ञा दिन्छिन्।

सहयात्राको तिन दशक पछि पहिलो विदेश भ्रमणमा निस्केकी उनि त्यहाँको विकाशबाट प्रभावित भएर आफ्नो देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्छीन्। देशको सेवा गर्न सबैभन्दा प्रवाभकारी माध्यम राजनितिनै हुने तर आफ्नो उत्तरदायित्व,जिम्मेवारीका साथ सेवा भावले कर्म गर्नु पर्ने कुरा उनी नयाँ पिढींलाई बुझाउन चाहन्छिन् (पृष्ठ २३०)।

नेताहरुको मुख्य जिम्मेवारी देशको सम्रग विकाश हुने गरी निति निर्माणमा हुनुपर्छ भन्ने सोचाइबाट प्रेरित भई आफ्ना श्रीमानलाई स्वत्रन्त्र ढङ्गले कर्ममा लाग्न प्रेरित गर्छीन्। उनि आफु भने पारिवारिक दायित्व निर्वाह गर्न सम्पुर्ण व्यावसाहिक तथा राजनितिक यात्रालाई सहजताका साथ तिलान्जली दिएर एक पुर्णकालिन गृहिणीको रुपमा आफुलाई समर्पित गर्दछिन्।

महिला स्वतन्त्रताका लागि सबै महिला मात्र नभइ पुरुषसंग पनि सहकार्य गरी निति निर्माणमा महिलाको उपस्थितिमा समानतायुत्त समाज बनाउन सकिने बताउँछिन्। अन्त्यमा उनको यस आत्मकथाले जिवनमा आउने अनेकौं उतारचढावबाट बिचलित नभई आफ्नो जिम्मेवारी ढृढताका साथ निभाउन सक्नुपर्छ र आफ्नो परिवारिक दायित्वलाई सबैभन्दा महत्व दिनुपर्ने भन्ने उनको साहसिक विचार र व्यवहार हामी सबैलाई उत्तिकै प्रेरणादायी हुनसक्छ।