निर्वाचन कार्यतालिका स्वीकृत, असोज २३ मा उम्मेदवारी दर्ता

Hollywood Khabar August 08,2022 Comments

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कार्यतालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आउँदो असोज २३  गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ ।  उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिने छ ।

असोज ११ गते निर्वाचन अधिकृत नियुक्त, २१ गते कार्यालय स्थापना गर्ने कार्यतालिका छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । 

तालिका अनुसार कात्तिक १६ गते मतदान सामग्री ढुवानी र २७ गते मतपत्र ढुवानी गरिने निर्वाचन आयेगले जनाएको छ । मंसिर ४ गतेको चुनावका लागि १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । ४ गते  बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ भने त्यही दिनदेखि नै समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु गर्ने आयोगको तयारी छ । आयोगले अहिले तय गरेका तालिकामा केही संशोधन हुनसक्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । निर्वाचनका लागि दल दर्ता यसअघि २२ गतेदेखि नै सुरु भएको छ । दल दर्ताको मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ ।