-नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि सुरु हुदै

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि सुरु हुदै

Hollywood Khabar June 17,2022 Comments

वासिङ्गटन डीसी/अमेरिकाको म्यारिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुदै आएको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२२ यहि जुन महिनाको २३-२६ सम्म भौतिक रुपमा र अनलाइन (भर्चुअल) बाट हुने भएको छ। चार दिन सम्म संचालन हुने महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १२ देशका ३८ वटा चलचित्रहरु प्रदर्शन हुने कुरा आयोजकले जानकारी गराएका छन।

जुनको २३ तारिक बिहिबार साँझ पुरानो ग्रीन्बेल्ट थिएटरमा बिक्रम सापकोटाद्वारा निर्देशित चलचित्र 'हल्करा'को भौतिक प्रदर्शनबाट महोत्सवको उद्घाटन हुनेछ। चलचित्र महोत्सवको समापन जुन २६ तारिक आइतबार साँझ निर्देशक माइकल ब्राउनको वृत्तचित्र वृक म्युल र एरिक स्पिंकको लघु चलचित्र द लिप रिडर'बाट सोहि थियटरमा भौतिक रुपमै हुने जनाइएको छ।

भौतिक प्रदर्शनी बाहेक महोत्सव अवधिभर स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत चलचित्रहरु हेर्न सकिनेछ।बिगतका वर्षहरु जस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा २ वटा चलचित्र प्रदर्शन हुनेछन भने स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न डीएमभी (डी, मेरिल्याण्ड, र भर्जिन्या) क्लोज उप प्रदर्शन गरिने छ।

प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता-निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छl यस वर्षको कान्स फिल्म फेस्टिवलमा पुगेका अविनाश बिक्रम शाह र सुरक्षा पन्तसंग पनि भर्चुअल संवाद गरिने भएको छ। प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ।

चलचित्र महोत्सव २०२२ का लागि ७ जनाको निर्णायक मण्डल घोषाणा गरिएको छ। उक्त्त निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरुको पुरस्कार घोषणा गर्नेछ। नेपालबाट अनुप सुबेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन्। महोत्सवमा आवेदन परेका चलचित्रहरुलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो।

सन् २०१७ देखि गैर-नाफामुलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले निरन्तर यो चलचित्र महोत्सव आयोजना गर्दै आइरहेको छ। कार्यक्रमबारे थप जानकारी संस्थाका सामाजिक संजाल तथा वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

चलचित्र हेर्नको लागि लिंक:

https://nafilmsociety.org/

 

https://watch.eventive.org/naiffmaryland2022