काहुँशिवपुर पूर्णसरसफाई

काहुँशिवपुर सरसफाई, पूर्ण सरसफाई विकासकै सूचक: प्रजिअ पोख्रेल

Hollywood Khabar January 18,2017 Comments

दमाैली, माघ ६

जिल्लाको काहुँशिवपुर गाविसको वडा नम्बर २ लाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको छ । बिहीबार गाविसको गैह्राखुदीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले उक्त वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरेका हुन् ।

काहँुशिवपुर–२ पूर्ण सरसफाईयुक्त घोषणा हुने गाविसको दोस्रो वडा हो । यसअघि काहुँशिवपुरको वडा नम्बर ९ लाई पूर्ण सरसफाईयुक्त घोषणा गरिसकिएको छ । नियमित रुपमा चर्पीको प्रयोग, महत्वपूर्ण अवस्थाहरुमा साबुन पानीले हात धुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धिकरण, व्यक्तिगत सरसफाई तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहोरमैलाको उचित व्यवस्थापन लगायतका मापदण्ड पूरा भएपछि वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले पूर्ण सरसफाई विकासकै एउटा सूचक भएकाले सरसफाईका गतिविधिलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए । पोख्रेलले स्वास्थ्य र सरसफाई मानव जीवनका लागि अति आवश्यक रहेकाले घोषणालाई व्यवहारमा उतार्नुपने बताए ।

स्थानीय विकास अधिकारी एवं जिल्ला स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका संयोजक बद्रीप्रसाद तिवारीले सन् २०१७ भित्र तनहुँलाई पूर्ण सरसफाईयुक्त बनाउने अभियानमा यसले उर्जा थपेको बताए । खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्दा जसरी स्थानीयवासीको सहयोग मिलेको थियो त्यसरी नै पूर्ण सरसफाईयुक्त बनाउने अभियानमा समेत जिल्लावासीको सहयोग आवश्यक पर्ने तिवारीको भनाई थियो ।

गाविस सचिव एवं अध्यक्ष रामचन्द्र पण्डितले गाविसका अन्य वडाहरुमा समेत सरसफाईका गतिविधि सञ्चालन भइरहेको बताए । उनले घोषणालाई निरन्तरता दिनु चुनौतिको विषय भएकाले यसतर्फ सबै वडावासी सचेत हुनुपर्ने बताए ।

वडा नागरिक मञ्च २ नम्बरका संयोजक दिपक रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस गाउँ सभापति जीवन चन्द, नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष भूपाल थापा, नेकपा माओवादी केन्द्रका पदम थापा, सहिद गंगा माविका प्रधानाध्यापक धु्रवकान्त पौडेल लगायतले मन्तव्य राखेका थिए ।

वडालाई नगद पुरस्कार

यसैगरी सोही अवसरमा पूर्ण सरसफाई वडा घोषणा भएको वडा नम्बर २ लाई नगद पुरस्कार हस्तान्तरण गरिएको छ । जिल्लास्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति र गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको तर्फबाट वडालाई नगद तथा सम्मानपत्र हस्तान्तरण गरिएको हो ।

जिल्लास्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको तर्फबाट ५ हजार नगद र गाविस स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको तर्फबाट १५ हजार नगद वडा नागरिक मञ्चका संयोजक दिपक रानालाई हस्तान्तरण गरिएको थियो ।