तस्बिर साभार वेब

जनप्रतिनिधि र प्राविधिकलाई घुस नदिने उपभोक्ता समितिको घोषणा

Hollywood Khabar September 14,2019 Comments

३० भदौ मुगु।स्थानीय तहमा सञ्चालित विकास आयोजनाका उपभोक्ता समितिले जनप्रतिनिधि र प्राविधिकलाई घुस नदिने घोषणा गरेका छन्।विकास आयोजनामा जनप्रतिनिधि र प्राविधिकले विभिन्न वहानामा घुस माग्ने गरेको भन्दै यहाँका उपभोक्ता समितिका पदाधिकारीले घुस नदिने घोषणा गरेका हुन्।

जिल्लाको छाँयानाथ रारा नगरपालिका–४ मा अघिल्लो वर्षको भुक्तानी हुन बाँकी रहेका चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका विकास योजनामा घुस नदिने उपभोक्ता समितिका अध्यक्षले लिखित प्रतिबद्धता जनाएका छन्।योजना छनौट गर्ने जनप्रतिनिधि र प्राविधिक मुल्याकंन गर्ने प्राविधिकलाई एक रुपैयाँ पनि घुस नदिने उपभोक्ता समितिका अध्यक्षले प्रतिबद्धता गरेका हुन्।

प्राविधिकलाई घुस दिएर मुल्याकंन बढाउन लगाउने प्रवृति रहेको भन्दै उपभोक्ता समितिका अध्यक्षले वडा कार्यालयमै पुगेर अब घुस नदिने प्रतिबद्धता गरेका हुन्। नगरपालिका र अन्य निकायबाट आफ्नो वडा र वस्तीमा सञ्चालित योजनामा प्राविधिकले दुःख दिने गरेको र घुस माग्ने गरेको उपभोक्ता समितिका पदाधिकारीको गुनासो छ। घुस दिंदा योजना दिर्घकालीन नहुने र गाउँमा विकास पनि नहुने भन्दै उनीहरुले अब घुस नदिने अठोट गरेका हुन्। छाँयानाथ रारा नगरपालिका– ४ का वडा अध्यक्ष बिष्णुकुमार भामले वडामा सञ्चालन भएको योजनामा अनियमितता रोक्न र गुणस्तर कायम गर्न उपभोक्ता समितिको प्रतिबद्धताले टेवा पुग्ने बताए।

विभिन्न निकायबाट सञ्चालित योजना सम्पन्न पश्चात अन्तिम भुक्तानी हुने समयमा प्राविधिकले घुस माग्ने गरेको स्थानीयको भनाइ छ। घुस नदिएसम्म मुल्याकंन पनि घटाई दिने धम्की दिने गरेको उपभोक्ता समितिका पदाधिकारीले बताए।अघिल्लो आर्थिक वर्षमा छाँयानाथ रारा नगरपालिका र अन्य निकायबाट यो वडामा ३२ योजना सञ्चालनमा थिए।