-साहित्यकार सञ्जेलद्वारा लिखित ११ औं कृति समय रेखामा आमोईको लोकार्पण

साहित्यकार सञ्जेलद्वारा लिखित समय रेखामा "आमोई" को लोकार्पण

Hollywood Khabar April 08,2022 Comments

सन्तोष दहाल, ललितपुर, मार्च ८, २०२२ शुक्रबार

साहित्यकार गोपाल सञ्जेलद्वारा लिखित नवीन उपन्यास समय रेखामा आमोईको लोकार्पण गरिएको छ। साझा प्रकाशनले तयार पारेको उक्त कृति शुक्रबार ललितपुरको चापागाउँमा आयोजित एक कार्यक्रममा सञ्जेलकी आमा खलकुमारी सञ्जेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा देवि नेपाल, वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ, संघीय सासंद नवराज सिलवाल र लेखक सञ्जेलले सञ्जेलले संयुक्त रुपमा उक्त उपन्यासको विमोचन गरेका हुन्।

ग्रामीण जनजीवनमा बोलिने मौलिक र सरस भाष्यको प्रयोगद्वारा लिखित उपन्यास समय रेखामा आमोईमा ग्रामीण जीवनशैलीमा अघिल्ला पुस्ताका महिलाहरुले भोगेको यथार्थ भोगाईलाई जीवन्त र सशक्त ढंगले प्रस्तुत गरिएको छ। दक्षिण ललितपुरको इकुडोलमा जन्मिएर विगतमा इकुडोलकै जनप्रतिनिधि समेत भएका संजेलले उपन्यासमा विशेष रुपमा इकुडोल लगायाताकै क्षेत्रमा बोलिने ठेट भाषाशैली र खोलानाला, पहरा, वन, जंगल आदिको जीवन्त आवाज उतारेका छन्।

विमोचन कार्यक्रममा शुभकामना व्यक्त गर्दै संघीय सांसद नवराज सिल्वालले साहित्यकार जहिले पनि अमर रहने बताउँदै उनी आफु पनि साहित्यको अनुरागी भएको बताए। उनले भने मेरो पनि ४ वटा कृति प्रकाशित छन्। ललितपुर कला साहित्यको खानी भएको जिल्ला रहेको बताउदै सिलवालले साहित्यको विकासमा आवश्यक आर्थिक तथा सामाजिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।सिलवालले साहित्यकार सञ्जेल राजनैतिक, सामाजिक व्यक्तित्व भए पनि उहाँलाई साहित्यकार भनेर नै समाजले चिनाएको प्रसंग जोड्दै अरु कृतिहरु पनि निरन्तर रुपमा ल्याउनको लागि शुभकामना व्यक्त गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा देवि नेपालले नेपाली साहित्यले सबै मानिसलाई एकै सुत्रमा बाँध्ने भन्दै साहित्यकारलाई कुन पार्टी हो भन्ने भन्दा पनि कुन कृतिको लेखक हो भनेर चिनाउनु पर्ने बताए । उनले आफ्नो कार्यकालमा ललितपुरका साहित्य संस्थालाई सहयोग गर्ने अपेक्षा भएको बताए।नेपालले राजनीतिक प्रतिष्पर्धीको बीचमा समय समयमा पानी बाराबारको स्थिति हुने भए पनि साहित्यकाराह्जरुको बीचमा विचारको द्वन्द नहुने र बरु पानी बाँडाबाण्डको स्थिति हुने बताए।

गोरखापत्रका पूर्व सम्पादक तथा वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठले उपन्यास एउटा काल खण्ड, प्रकृति, संस्कृति, परम्परा र कुनै घटनामा आधारित भएर लेखिने भन्दै वर्तमान समयमा पैसावाला व्यक्तिहरुले नामका लागि अरुलाई नै लेख्न लगाउने प्रवृति बढेको बताए ।

इकुडोलकै शारदा शान्ति स्कुलकी पूर्व शिक्षक सन्ध्या श्रेष्ठले ४२ सालमा इकुडोलमा पढाएको स्मरण गर्दै उनले आफ्नो वास्तविक विश्व विद्यालय माझखण्ड रहेको बताइन्। उनले भनिन् लेखकले आफ्नो आमाको हातबाट उपन्यास विमोचन गर्नु नयाँ विषय हो। म त्यहाँबाट फर्केपछि इकुडोल फेरी पुग्न नपाए पनि गोपाल सरको यो कृति पढ्दा साँच्चै पुगेको अनुभूति भयो।

गोदावरी साहित्य परिषद् ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीले साहित्यको विकासमा स्थानीय तह गोदावरी नगरपालिका तथा महाँकाल गाउँपालिकाले सहयोग गरेको बताउदै उनले नेपाली साहित्यको विकासमा स्थानीय तहको पनि उत्तिकै भूमिका रहने बताए। यस्तै सुनगाभा साहित्य सदन, ललितपुरका अध्यक्ष रामसुन्दर केसीले साझा प्रकाशन, मदन पुरस्कार गुठी र सत्यमोहन जोशी जस्ता व्यक्ति ललितपुरमा नै रहेकाले ललितपुर जिल्ला ललित कलाको जिल्ला भएको बताए। समय रेखामा आमोई उपन्यासले काँठ क्षेत्र र दक्षिण ललितपुरको ग्राम्य जीवनशैलीलाई जोडेको बताए ।

गोदावरी साहित्य परिषद् ललितपुरका सचिव रत्न बिरही घिमिरेले लेखकको परिचय कविता मार्फत गराउदै उनले उपन्यासको पहिलो पाठक भएकाले उपन्यासले टुङ्गुन खोलाका मानिसहरुको जीवनशैली र परिवेशलाई चित्रण गरेको बताए।

समारोहमा लेखकको कृतिको शोधपत्र तयार पार्ने व्यक्ति तथा समय रेखामा आमोईका डिजाइनरलाई सम्मान गरिएको थियो। स्रस्टा सञ्जेलका यसअघि कविता सङग्रह २ वटा, गजल सङग्रह १ वटा, हाईकु सङग्रह १ वटा, निवन्ध सङग्रह ४ वटा, उपन्यास सङग्रह ३ गरी ११ वटा कृतिहरु प्रकाशित भईसकेका छन्।