नुवाकोटमा माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी

नुवाकोटमा माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी

Hollywood Khabar December 21,2022 Comments

विद्यार्थीहरुको वैज्ञानिक सोचाई, अध्ययन र अनुसन्धान गर्ने बानीको विकास गराउन नुवाकोटमा माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी भएको छ । पठनपाठनको क्रियाकलापमा विज्ञान विषयलाई  वढी जोड दिइदै आएकोले विद्यार्थीहरुलाई थप हौसला प्रदान गर्न शिक्षा विकास तथा समन्वय इकाइको आयोजनमा विज्ञान प्रदर्शनी आयोजना गरिएको हो । त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा आयोजित विज्ञान प्रदर्शनीमा किस्पाङ गाउँपालिका बाहेक ११ वटा स्थानीय तहमा रहेका एकएक वटा विद्यालयको सहभागिता रहेको थियो । विज्ञानको विधाहरु मध्ये फिजिक्स, केमेस्ट्री र बायोलजीमा आधारित भई निर्माण गरिएका बस्तुहरु प्रदशर्नीमा राखिएको थियो ।

पालिकाले छनौट गरेको विद्यालयलाई विज्ञान प्रदर्शनी प्रतियोगितामा सहभागि गराएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख देबकुमार बरालले जानकारी दिनुभएको छ । उत्साह पूर्वक विद्यालय र विद्यार्थीहरु प्रदर्हनीमा सहभागी भएको उहाँको भनाई छ । विज्ञान प्रदर्शनीमा ककनी गाउँपालिका वडा नम्बर ६ मा रहेको नवजीवन माध्यमिक विद्यालय  पहिलो, लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालय दोश्रो, दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ मा रहेको घ्याङफेदी माध्यमिक विद्यालय तेश्रो र विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको पृथ्वी माध्यमिक विद्यालय सान्तोना भएको छ । प्रदर्शनीको प्रथमलाई रु. पाँच हजार, दोश्रोलाई रु तीन हजार, तेश्रोलाई रु दुई हजार र सान्तोनालाई रु एक हजार रुपैयाँ  पुरस्कार समेत प्रदान गरिएको छ । 
प्रदर्शनीमा प्रथम भएको विद्यालयमा प्रदेश स्तरीय प्रदर्शनीमा सहभागी गराइने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख देबकुमार बरालले बताउनुभएको छ । 

वैज्ञानिक सस्कारको विकास गर्दै खोज तथा अनुसनधानमा लागेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्न विज्ञान प्रदर्शनीले हौसला प्रदान  गरेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका सहायक प्रध्यानाध्यापक राजेन्द्र दवाडीले बताउनुभएको छ ।  साथै त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका  १८ वटा विज्ञान प्रदर्शनी राखिएको थियो ।