नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा

नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा

Hollywood Khabar January 30,2023 Comments

नेपाल भ्रष्टाचार व्याप्त हुने मुलुकहरूको श्रेणीमै कायम रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । ट्रान्सपरेन्सीले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै २०२२ मा नेपालले १०० मा ३४ अंकमात्र पाएको छ । नेपाल भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।

सीपीआई २०२१ को रिपोर्टअनुसार नेपालले अंक ३३ पाएर ११७ औं स्थानमा रहेकोमा यो पटक भने केही सुधार भएपनि नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यस बर्ष सूचकाङ्कमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार र सोमालिया १२ अंक प्राप्त गरी विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । यस सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ । ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा गनिन्छ ।

यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मूलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रतिवेदनमा उल्लेख छ । सीपीआई २०२२ मा दक्षिण एशियाली मुलुकहरुमध्ये भुटान ६८ अंकसहित २५ औं, मालदिभ्स ४० अंकसहित ८५ औं, भारत ४० अंकसहित ८५ औं, श्रीलङ्का ३६ अंकसहित १०१ औं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, पाकिस्तान २७ अंकसहित १४० औं, बंगलादेश २५ अंकसहित १४७ औं र अफगानिस्तान २४ अंकसहित १५० औं स्थानमा रहेका छन् । यसैगरी, उत्तरी छिमेकी चीन ४५ अंकसहित ६५ औं स्थानमा रहेको छ । सन् २०२२ मा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई रिपोर्टको आधार मानिएको जनाइएको छ ।