विश्वभर झण्डै तीन सय पत्रकार जेलमा, समाचार लेखेकै कारण कम्तीमा २४ जना मारिए

विश्वभर झण्डै तीन सय पत्रकार जेलमा, समाचार लेखेकै कारण कम्तीमा २४ जना मारिए

Hollywood Khabar December 09,2021 Comments

विश्वभरी झण्डै तीन सय जना जेलमा रहेको एक अध्ययनले देखाएको छ । गैरनाफामुलक संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट ९सीपीजे० ले गरेको अध्ययनले यो वर्ष डिसेम्बर १ सम्म दुई सय ९३ पत्रकार जेलमा रहेको देखाएको हो । 

कम्तीमा २४ जना पत्रकार समाचार लेखेकै कारण मारिएका र अन्य १८ जनाको उनीहरूले गरेको कामबाट उत्पन्न भएको कठिन परिस्थितिका कारण मृत्यु भएको सीपीजे जनाएको छ । प्रेस स्वतन्त्रता र सञ्चार माध्यममाथिको आक्रमण सम्बन्धि सीपीजेले गरेको वार्षिक सर्वे अनुसार जेल पर्ने पत्रकारको संख्या २०२० को तुलनामा १५ जनाले वृद्धि भएको छ । 

पत्रकारहरू जेलमा पर्ने कारणहरू देशअनुसार फरक फरक छन् । अधिकांश पत्रकारहरू भने राजनीतिक उथलपुथल र स्वतन्त्र पत्रकारिताप्रति बढिरहेको असहिष्णुताको कारण जेल पर्ने गरेको सीपीजेले उल्लेख गरेको छ । “सीपीजेले यति धेरैै संख्यामा विश्वभरी पत्रकारहरू कैद भएको अभिलेख राखेको यो छैटौँ वर्ष हो”, सीपीजेका कार्यकारी निर्देशक जोल साइमनले एक विज्ञप्तीमा बताए । “यो संख्याले एकअर्कोसँग जोडिएका दुई चुनौती–सरकार सूचना नियन्त्रण र व्यवस्थापन गर्न कटिबद्ध छन्, र तिनीहरू त्यसो गर्ने प्रयासहरूमा झनै निर्लज्ज हुँदैछन् ।”

सबैभन्दा धेरै चीनमा बन्दी बनाइएका छन्, त्यहाँ ५० जना पत्रकार जेलमा छन् । त्यसपछि, दोस्रो धेरै म्यानमारमा २६ जना पत्रकार कैद भएका छन् । त्यहाँ सैनिकले कु गरेपछि पत्रकारहरू पक्राउ परेका हुन् । यस्तै, इजिप्टमा २५, भियतनामा २३ र बेलारुसमा १९ जना पत्रकार जेलमा छन् । 

पहिलो पटक हङकङ पनि पत्रकारलाई बन्दी बनाउने देशको सूचीमा परेको छ । सीपीजेका अनुसार आपराधिक गिरोह अथवा भ्रष्ट अधिकारीविरुद्ध कलम चलाउने पत्रकारहरू निसाना पर्ने मेक्सिको पश्चिमी गोलार्धमा पत्रकारहरूको लागि सबैभन्दा खतरनाक देश हो । - गार्जियनबाट