नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई इमेलमार्फत राजीनामा पत्र पठाउनु भएको हो । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार हाल कुवेतमा रहनुभएका प्रशिक्षक अलमुताइरीको राजीनामाको विषयमा कार्यसमितिको बैठकले थप निर्णय गर्ने छ । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत पनि राजीनामाको घोषणा गर्नुभएको छ ।
नेपालको मुख्य प्रशिक्षक सम्हालेको पाँच सय २५ दिनपछि उहाँले राजीनामा दिनुभएको हो । “नेपाली फुटबल सेवाको पाँच सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु”, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । एन्फाले २०७७ चैत २२ गते एक वर्षका लागि अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यसपछि अलमुताइरी र एन्फाबीच २०७८ कात्तिकमा तीन वर्षका लागि नयाँ सम्झौता भएको थियो ।
अलमुताइरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनशिपको फाइनल खेलेको थियो । गत असोजमा माल्दिभ्समा भएको उक्त च्याम्पियनशिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । यसैगरी नेपालले अलमुताइरीको नेतृत्वमा एएफसी एसियन कप छनोटको दोस्रो चरणसमेत खेलेको थियो । गत वैशाख १३ गते अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उहाँ विवादमा तानिनुभएको थियो । अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडी बीचको विवाद समाधानका लागि एन्फाले छानबिन समितिसमेत गठन गरेको थियो ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु