प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा प्रस्थान

Hollywood Khabar January 17,2024 Comments

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुने असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार एअरलाइन्सबाट युगान्डा प्रस्थान गरेका छन्।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र उनकी सुपुत्री गङ्गा दाहाल सहभागी छन्।

प्रधानमन्त्री दाहालले साझा विश्व समृद्धिका लागि गहन सहकार्य विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन उनी गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुने छन्। यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका छन्।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो। प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।