पशुपतिनाथको सम्पत्तिमा राजु खत्री र नारायण सुवेदी मच्चाउँदैछन् ब्रम्हलूट

Hollywood Khabar January 13,2024 Comments

पशुपतिनाथ मन्दिरको सेवा गर्छु भनेर शपथ लिएका पदाधिकारीहरूले अहिले भगवान पशुपतिनाथको सम्पत्ति दोहन गरिरहेका छन्। पशुपति क्षेत्र विकास कोषको सदस्य हुँदै कार्यवाहक सदस्य सचिव हत्याएका राजुकुमार खत्री र कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको मिलिभगतमा पशुपतिनाथको सम्पत्ति लुट्ने शिलशिला तीव्र भएको हो।

यो हेर्नुहोस्, पशुपतिनाथ मन्दिरको पूर्वी ढोकाबाट दक्षिणतर्फ रहेको पुलदेखि चक्रपथस्थित बागमती नदीको पुलसम्मको भाग झण्डै तीन सय ५० मिटर छ। यहाँको बालुवा सम्याउन ३० लाख रुपैयाँ लाग्यो भन्दा तपाई छक्क पर्नुहुन्छ। हो, एक मिटरको झण्डै एक हजार रुपैयाँ। प्रश्न उठ्छ, कसरी यति महँगो खर्च भयो त ? उत्तर सहज छ– चर्चित ठग नटबरलालले आइफिल टावर बेचेका थिए। नेपाली नटबरलालले पशुपतिनाथ मन्दिरको बालुवा मात्रै बेचेका हुन्। त्योभन्दामाथि यिनीहरूको हैसियत पुग्दैन।

बागमती नदीको बालुवा सम्याएको विषयमा विस्तृत जानकारी प्रस्तुत गर्नुभन्दा अघि यी दुई पात्रबारे केही बुझ्नुहोस्।

राजुकुमार खत्री तरकारी व्यवसायी हुन्। राजुले आफूलाई नेपाली कांग्रेस नेतृ एवं सांसद् डा. आरजु राणा देउवाको भाइ भनेर परिचय दिने गरेका छन्। तर, डा. आरजुसँग खत्रीको कुनै सम्बन्ध छैन। खत्रीको सम्बन्ध डा. आरजुका भाइ भुषण राणासँग मात्रै छ। भुषणका सहयोगीका रुपमा राजु खत्री काम गर्छन्। तर, भुषण राणासँगको सम्बन्धको गलत प्रयोग र फाइदा उठाउँदै राजुले धेरैलाई ‘म डा. आरजुको भाइ हो’ भनेर परिचय दिने गरेका छन्। मिठो बोलेर मान्छे झुक्याउने राजु खत्रीलाई धेरैले डा. आरजुको भाइ नै होला भनेर विश्वास पनि गर्छन्। तर देउवाको सचिवालयका सदस्यले उनको नाम पनि सुनेका छैनन्। त्यति मात्रै होइन, कांग्रेस नेता जीतजङ बस्नेतको नाम पनि राजुले भजाउने गरेका छन्। उनको ठगी धन्दा यसरी नै चलिरहेको छ। प्रष्ट बुझ्नुहोस्, राजु खत्री एक करोड ७५ लाख रुपैयाँ ठगीमा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका ठग हुन्।

कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी अर्का नटबरलाल हुन्। सुवेदीले आफूलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको खास मान्छे र सल्लाहकार नै भनेर चिनाउँछन्। एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रेम आलेको नाम बेचेर धेरैलाई झुक्याइरहेका छन्। पशुपतिनाथ मन्दिरको सम्पत्तिमाथि नजर गाडेका नारायण सुवेदीले सुरक्षाकर्मी, फोटोग्राफरदेखि दर्शनार्थीसँग पनि पैसा असुल्ने गरेका छन्। सुवेदीका अरु कर्तुत अर्को श्रृंखलामा प्रस्तुत गरिनेछ। 

अब पुनः बालुवा सम्याएर राजु खत्री र नारायण सुवेदीले लुट मच्चाएकै प्रसङ्ग। 

बागमती नदीको बालुवा सम्याउने निर्णय भएपछि राजुकुमार खत्री र नारायणप्रसाद सुवेदीले सुरुमा कोषकै कर्मचारी ईश्वरमान भण्डारीलाई जिम्मा दिए। भण्डारी कोषको सफाई शाखाका फोकल अधिकृत हुन्। सफाइ कर्मचारीलाई निर्माणको जिम्मा दिने यिनै दुई जना हुन्। ईश्वरमानलाई पाँच लाख रुपैयाँ पेस्की दिएर खत्री र सुवेदीले काम सुरु गराए। कोषले नै एस्काभेटर ड्राइभरलाई भत्ता दिने र तेल कोषकै कुपनबाट दिने शर्त थियो। तर, यसरी काम गर्दा धेरै बजेट निकासा गरेर चलखेल गर्न नसकिने देखेपछि राजु खत्री र नारायण सुवेदीले पेस्की फिर्ता गर्न लगाए। र, १०–१० लाख दरका तीन वटा कोटेशनमार्फत गरी करिव ३० लाख रुपैयाँ दिने गरी बगरको बालुवा सम्याउन लगाए। खत्रीले आफू निकटको एक कम्पनीलाई बालुवा सम्याएको भनेर रकम निकासा गरे। कोष स्रोतका अनुसार काम पहिल्यै आन्तरिक रुपमै भइसकेको थियो। गत साता मात्रै राजु खत्री र नारायण सुवेदीले फर्जी ठेक्का दिएको कम्पनीसँग १५ लाख रुपैयाँ रकम फिर्ता लिएका छन्। कम्पनीका एक कर्मचारीले बालुवा सम्याउने नाममा फर्जी काम गरेबापत निकासा गरेको झण्डै ३० लाख रुपैयाँमध्ये २५ लाख फिर्ता मागेपछि विवाद भएको बताए। ती कर्मचारीका अनुसार अहिलेलाई १५ लाख रुपैयाँ लिएका खत्री र सुवेदीले थप रकम दिन फर्जी ठेकेदार कम्पनीका सञ्चालकलाई ताकेता गरिरहेका छन्। राजु खत्री र नारायण सुवेदी पशुपतिनाथको बदनाम यसरी नै गरिरहेका छन्।